सगरमाथामा हिउँ पग्लिन थालेपछि पुरिएका शव देखिँदै, बाटोबाट हटाउन आरोहीको माग

 असोज २६, २०७९ बुधबार १०:३७:४४ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

आठ हजार मिटर भन्दा अग्ला विश्वका १४ वटै हिमालको दोहोर्याएर आरोहण गरेका कीर्तिमानी आरोही सानु शेर्पा हिमालमा शव देख्दा मन चसक्क हुने बताउनुहुन्छ । जुनसुकै बेला विपत्ति आउनसक्ने हिमालमा अरुको शव देख्दा मनमा डर पैदा हुने उहाँको भनाइ छ । 

उहाँ भन्नुहुन्छ ‘शव देख्दा मेरो पनि अवस्था यस्तै भयो भने मेरो छोराछोरी तथा मेरो परिवार के गर्ला, विचरा यो मान्छेका परिवार के गर्दै होलान् भन्ने सोच आउँछ ।’ मनलाई एकोहोरो बनाएर आरोहण गरिरहेको बेला शव देख्दा मन बहकिने उहाँको अनुभव छ ।

झण्डै दुई दशकदेखि हिमाल आरोहण गर्दै आएका शेर्पा पछिल्ला वर्षमा हिउँ पग्लिए सँगै शव देखिन थालेको बताउनुहुन्छ । कतै सग्लै शव त कतै टुक्रिएका अङ्ग अनि कतै अस्थिपञ्जर देखिन्छ । अघिल्ला वर्षहरुमा शव नदेखेको ठाउँमा पनि अर्काे वर्ष पुरानो शव देखिने गरेको उहाँको भनाइ छ ।

अर्का आरोही नरबहादुर अस्थानी मगर पनि सगरमाथा आरोहण गर्दा धेरै शव देखेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘कतै सग्लै शव देखिन्छ, कतै छुटिएको अङ्ग मात्र पनि देखिन्छ, बाटो आसपासमै शव देखिन्छ ।’

सबैभन्दा कम उमेरमा १४ वटै अग्ला हिमालको आरोहण गर्नुभएका कीर्तिमानी आरोही मिङ्मा डेभिड शेर्पा पनि आरोहणका क्रममा थुप्रै शव देखिने गरेको बताउनुहुन्छ । कहिलेकाहीँ त शवलाई नाघ्दै हिँड्नुपर्ने अवस्था पनि आउने उहाँ बताउनुहुन्छ ।

सर्वोच्च शिखरको आरोहण सुरु भएयता तीन सयभन्दा धेरै आरोहीले सगरमाथामा ज्यान गुमाएका छन् । ज्यान गुमाएकामध्ये झण्डै दुई तिहाइको शव सगरमाथामै रहेको बताइन्छ । बरफ र हिउँमा पुरिएका शव पछिल्लो समय हिउँ पग्लिने क्रम बढेसँगै सतहमा देखिन थालेका छन् । 

चिनियाँ मोहोडातर्फका धेरै शव हटाइएको भएपनि नेपालतर्फ शव हिउँमै छन् । अघिल्लो वर्ष शव नदेखेको ठाउँमा पनि अर्को वर्ष हिउँ पग्लिएर शव देखिने गरेको आरोहीहरु बताउँछन् । यस्ता शव खुम्बु आइसफलदेखि माथि बाल्कोनीसम्म पनि देखिन्छ । चौँथो शिविर र आसपासमा धेरै शव रहेका छन् । खुम्बु हिमनदी चलायमान हुँदा त्यहाँ पनि शव देखिएका छन् ।

हिमालको माथिल्लो भागमा शव खोज्नु र तिनलाई त्यहाँबाट हटाउने काम कठिन र महँगो दुवै हुन्छ । सगरमाथा सरसफाइ अभियान संचालन गरी केही शव आधार शिविरमा ल्याएका आरोही एवम् अभियानकर्मी पीके शेर्पा महँगो पर्ने भएकैले धेरै शव उतै रोकिएका बताउनुहुन्छ ।

केही आरोहीहरुले भने हिमालमा ज्यान गएमा शव त्यतै छोड्नु भनेको भन्दै आफन्तले शव ल्याउन अस्वीकार पनि गर्ने गरेका छन् । धेरै चाहिँ चाहेर पनि भेटिएका छैन वा ल्याइएको छैन । जे कारण भए पनि हिमालमा शवको संख्या बढ्दै जानु हिमाल र त्यहाँ पुग्ने अरु आरोहीका लागि पनि जोखिमको कुरा भएको आरोहीहरु बताउँछन् । 

नेपाली सेनामार्फत संचालन भएको सरकारको हिमाल सफाइ अभियान अन्तर्गत केही शवको उद्धार भएको छ । तर अझै धेरै शव हिमालमै छन् । सरकारले चाहेमा शव खोज्न र तल झार्न सक्ने जनशक्ति नेपालमा रहेकोले हिमालमा रहेकामध्ये धेरैजसो शवहरु तल ल्याउन सम्भव पनि रहेको आरोहीहरु बताउँछन् ।

फोटो सौजन्य : पीके शेर्पा  

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया