‘चुनाव जित्न आश्वासन बाँड्छन्, चुनाव जितेपछि हराउँछन्’

 कात्तिक २४, २०७९ बिहिबार २०:६:१२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – जब जब चुनाब आउँछ तब तब विकासका कुरा खुबै उठ्छन् तर चुनाव सकिएपछि ती मुद्दा केवल नारामा मात्रै सीमित हुने गरेका छन् । विकास नहुने तर चुनावका समयमा मात्रै उठ्ने ती मुद्दा सुनेर दाङवासी वाक्क दिक्क बनेका छन् । 

दाङको क्षेत्र नम्बर २ बाट २०५१ सालको चुनावमा नेकपा एमालेका शंकर पाेखरेलले प्युठानको माडीखोलाको पानि दाङ ल्याएर दाङलाई सिँचाइ गर्ने कुरा गर्नुभयो । शंकर पोखरेल विजयी हुनुभयो तर त्यसको काम अघि बढ्न सकेन । दाङका उत्तर–दक्षिण भएर बग्ने खोलाहरूमा तटबन्ध बाँधेर पानी सङ्कलनको कुरा उठिरहन्छ तर कामले गति लिन कहिल्यै सकेन । मङ्सिर ४ गते हुने चुनावमा पनि यही मुद्दा दलहरूले उठाएका छन् ।

२०७४ सालको चुनावमा दलहरूले घोराही–तुलसीपुर चार लेन सडक र बिजुली बस सञ्चालनको कुरा खुबै भजाउने काम गरे । नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरा र शंकर पोखरेल विजयी हुनु पनि भयो तर उहाँहरूको विकासका कुरा नारामा मात्रै सीमित बने । बिजुली बस सेवाको काम नै सुरु भएन भने घोराही–तुलसीपुर चार लेन सडक ठेक्का लागेको चार वर्ष पुग्दा पनि १० प्रतिशत काम भएको छैन । अलपत्र अवस्थामा छाडिएको यो सडक निर्माण सुरु भएदेखि गाडी दुर्घटनामा परि २४ जनाले ज्यान गुमाइसकेका छन् ।

सडक नबनाएर मानिसका लागि धराप थापेको भन्दै नागरिकले दल र उनीहरूका नेतालाई धारे हात लगाउन थालेका छन् । नागरिक समाज दाङका संयोजक केवी मसाल दलहरूले चुनावमा आश्वासन दिए पनि प्रतिबद्धता भुल्ने गरेको बताउनुहुन्छ । 

दाङका राजनीतिक दलहरूले चर्को रूपमा उठाउने अर्को मुद्दा हो विमानस्थलको । कोही टरिगाँउमा भएको विमानस्थलको स्तरोन्नतिको कुरा उठाउँछन् भने कोही नारायणपुरमा अन्तर्राष्टिय विमानस्थल निर्माणको कुरा उठाइरहन्छन् । तर दाङमा भरपर्दो विमानस्थल र हवाई सेवाबाट वञ्चित नागरिक हवाई सेवाका लागि नेपालगञ्ज र भैरहवा पुग्नुपर्ने बाध्यता छ । नेताका कुरामा अब कुनै विश्वास छैन भन्नुहुन्छ घोराहीका त्रिभुवन पौडेल ।

दलहरूकै खिचातानीका कारण पाँच वर्षसम्म अलपत्र जस्तै रहेको दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले यस वर्षदेखि स्वास्थ्य क्षेत्रमा थोरै प्रगति देखाउन थालेको छ । जुनसुकै दल अनि जो काेही उम्मेदवारले चुनाव जिते पनि चुनावमा गरेका वाचाकाे व्यावहारिक कार्यान्वयन दाङवासीले खोजेका छन् । 

उम्मेदवारका आवश्वासनमा छैन नागरिकको विश्वास

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावकाे मिति नजिकिँदै गर्दा दलहरूका चुनावी कार्यक्रम बढ्दै गएका छन् । मतदातालाई आश्वासन बाँड्दै सत्ता गठबन्धनमा रहेका दलहरू, विपक्षी एमालेलगायत अन्य पार्टीका उम्मेदवारसँग दाङवासीले आश्वासन मात्र नभइ विकासका योजना ल्याउने ग्यारेन्टी गर्न माग गर्ने गरेका छन् ।

घोराही उपमहानगरपालिका–७ बेसाहीका भुपबहादुर शाहलाई पनि नेताको आश्वासनको विश्वास लाग्न छोडेको छ । चुनावकाे समयमा सबै माग पूरा गर्ने बताउने तर चुनाव जितेपछि गाउँ नै नफर्किने नेताको प्रवृत्तिले आश्वासनको विश्वास लाग्न छोडेको उहाँले बताउनुभयो ।

‘गाउँमा सिँचाइका लागि कच्ची कुलो छ तर भरपर्दाे छैन । डेढ दशक अघिदेखि स्थानीयवासीले गाउँमा आउने हरेक नेतासँग भरपर्दाे सिँचाइका लागि गुर्जेखोलामा पक्की बाँधसहित नालाको माग गर्दै आएका छन् । नेताहरूले पनि हुन्छ भन्छन् तर काम कहिल्यै हुँदैन’, शाह भन्नुहुन्छ ।

‘बेसाही गाउँदेखि पश्चिममा रहेको खुर्जे खोलामा पानी खेर जाने गरेको छ । कच्ची कुलो भए पनि त्यो भरपर्दाे छैन । त्यसलाई तटबन्ध गरेर पक्की नाला बनाएर पानी ल्याउन सके बेसाहीको धेरै जग्गामा सिँचाइ हुने थियो । सिँचाइका लागि वडा कार्यालय, मेयरदेखि प्रदेश सरकारसम्मलाई भन्यौँ । तर, कसैले नहेर्दा यस वर्ष खेत बाँझै छ’, उहाँले गुनासाे सुनाउनुभयाे । 

चुनावका क्रममा आश्वासन दिने तर काम नगर्दा नागरिकले बर्सेनि उही माग दोहोर्‍याउनुपर्ने अवस्था रहेको घोराही उपमहानगरपालिका–७ पर्साका भीमसेन पुन मगरले बताउनुभयो । नेताको आश्वासनमा भरपर्दा आफ्नो टोलमा बिजुलीको पोल गाडिएको पाँच वर्ष भइसक्दा पनि पोलमा तार तान्ने काम पूरा हुन नसकेको उहाँले सुनाउनुभयाे ।  

घर अगाडिका बिजुलीको पोलमा तार नहुँदा आर्थिकरूपमा सम्पन्न परिवारले टाढाबाटै तार तानेर बिजुली बत्ती बाले पनि गरिब परिवारले बत्ती बाल्न नसक्ने अवस्था रहेको उहाँले बताउनुभयो । पाेलमा तार तान्ने काम पूरा नहुँदा झन्डै ३० घरधुरी बिजुली बत्तीबाट वञ्चित हुनुपरेको मगर बताउनुहुन्छ । 

चुनावमा आश्वासन दिने तर काम नगर्ने प्रवृत्तिका कारण नागरिकले दुःख पाउने अवस्था रहेको नागरिक समाज दाङका संयोजक केवी मसाल बताउनुहुन्छ । चुनाव जित्नका लागि आश्वासन बाँड्ने तर काम नगर्ने प्रवृत्तिले राजनीतिप्रति युवाको वितृष्णा जगाउने काम गरेको उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया