दाङ–३ मा दीपक गिरी र कोमल वलीको चुनावी प्रतिस्पर्धा

 कात्तिक २५, २०७९ शुक्रबार १६:१९:१६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – मंसिर ४ मा हुने प्रतिनिधि सभातर्फ दाङ चुनाव क्षेत्र–३ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरी र नेकपा एमालेकी उम्मेदवार कोमल वली मुख्य प्रतिस्पर्धी रहेका छन् ।

गिरी र वलीको चुनावी प्रतिस्पर्धामा कसले बाजी मार्ला भन्नेमा दलका आफू केन्द्रित दाबी त छँदैछन् । उनीहरुको प्रतिस्पर्धाले पश्चिम दाङको चुनावी परिवेश पनि तातेको छ । पूर्व–मन्त्री तथा कांग्रेसका केन्द्रीय नेता गिरी र गायिका तथा सञ्चारकर्मी वलीमध्ये कसले जित हात पार्ला भन्नेमै अहिले बहस चर्केको छ । 

पश्चिम दाङको हेकुलीमा जन्मिनुभएका गिरी नेपाल विद्यार्थी संघको राजनीति हुँदै केन्द्रीय राजनीतिमा आउनुभएको हो । उहाँ निकै प्रखर वक्ता र विचारप्रति खरो नेताको रुपमा चिनिनुहुन्छ । कांग्रेसको केन्द्रीय सदस्यसमेत रहनुभएका गिरी २०५१ मा शंकर पोखरेलसँग र २०६४ मा नेकपा माओवादीकी सुष्मा शर्मा घिमिरेसँग यही क्षेत्रमा पराजित हुनुभएको थियो । २०७० सालमा भने एमालेका नेता स्व. उत्तरकुमार वलीलाई पराजित गरेर उहाँले जित हासिल गर्नुभएको थियो । त्यही कार्यकालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा सिँचाइ मन्त्री पनि हुनुभयो । आफू मन्त्री हुँदा गिरीले बृहत् सिँचाइ परियोजना स्थापना गरेर जिल्लामा सिँचाइका क्षेत्रमा काम गरेकाले पनि स्थानीयले गिरीलाई काम गर्न सक्ने व्यक्तिको रुपमा हेर्छन् ।

यस्तै, पश्चिम दाङमा जन्मेर लामो समय रेडियो नेपालमा समाचार वाचिकाका रुपमा आफ्नो छवि बनाउनुभएकी कोमल वलीको पहिचान गायिका र सञ्चारकर्मीको रूपमा छ । उहाँका धेरै गीत चर्चामा पनि रहेका छन् ।  कोमल वली राप्रपा हुँदै नेकपा एमालेमा आउनुभएको हो । २०७४ सालको चुनावमा उहाँ एमालेको समानुपातिक सूचीमा पर्नुभएको थियो । वली राष्ट्रियसभा सदस्यसमेत बन्नुभएको थियो ।

समाचार पढेर होस् वा गीत गाएर आफ्नो पहिचान बनाउनुभएकी कोमल वलीले जित हासिल गर्न एमालेको भोट कायम राख्दै गठबन्धनको पाँच हजार भोट तान्न सक्नुपर्ने देखिन्छ । त्यो पाँच हजार भोट वलीको व्यक्तित्त्वले कमाउन सक्ने आँकलन गर्नेहरु पनि छन् । यस्तै, वलीको छवि यहाँका बासिन्दाको मनमा राम्रो रहेकाले त्यो प्रभाव भोटमा देखिने आश एमालेको छ । अर्कोतर्फ वलीका आलोचक पनि छन् । वर्षौंदेखि पार्टीमा दुःख गरेका नेता-कार्यकर्ताले पार्टी प्रवेशको छोटो समयमै वलीलाई उम्मेदवार बनाएको भनेर असन्तुष्ट हुने पनि छन् । 

पालिका तह चुनावमा गठबन्धनका वडाध्यक्षले पाएको मत पाउने सम्भावनालाई हेर्दा नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरी बलियो भएको कांग्रेसको दाबी छ । वलीका जस्तै गिरीका आलोचकको पनि कमी छैन । वर्षौंदेखि  आफूले मात्र अवसर पाएकाले युवाले अवसर नपाएको गुनासो पनि छ । दाङ—३ कांग्रेसभित्रकै गुट उपगुटको झगडा भइरहने र त्यसको असर चुनावमा देखिने क्षेत्र पनि हो । पार्टीभित्रकै अन्तर्घात हुँदै आएको क्षेत्र पनि हो । जसको फाइदा वलीलाई हुनसक्छ भन्ने एकथरीको बुझाइ छ । यस्तै, दाङको विकासका लागि केन्द्रमा प्रभाव पार्न सक्ने नेता भएकाले गिरीले लोकप्रिय मत ल्याउँछन् भन्ने विश्लेषण गर्नेहरु पनि छन् ।

यस्तो छ अंकगणित 

गएको वैशाखमा सम्पन्न पालिका तह चुनावमा सत्ता गठबन्धनका दलहरूको तालमेल हुँदाहुँदै पनि तुलसीपुर उपमहानगरपालिमा प्रमुख र उपप्रमुखमा नेकपा एमालेले जितेको थियो । तुलसीपुरबाहेक यो क्षेत्रमा पर्ने दंगीशरण, शान्तिनगर र बबई गाउँपालिका नेपाली कांग्रेस एक्लैले जितेको थियो । दाङको निर्वाचन क्षेत्र ३ मा तुलसीपुर उपमहानगरपालिकाका १ देखि १५ वडा, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिका पर्छन् । निर्वाचन आयोगका अनुसार मंसिर ४ को चुनावका लागि यो क्षेत्रमा १ लाख ४८ हजार ४ सय ७५ मतदाता छन् ।

गएको पालिका तह चुनावमा वडाध्यक्षहरूले ल्याएको मत हेर्दा एमालेभन्दा गठबन्धन अगाडि छ । यो क्षेत्रमा सत्ता गठबन्धनका दलहरू कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्षहरूले ल्याएको ४२ हजार ७३ मत छ । एमालेका वडाध्यक्षहरूले ३६ हजार ५ सय ९ मत ल्याएका छन् । वडाध्यक्षहरूले पाएको मतलाई नै आधार मान्ने हो भने यहाँ एमालेभन्दा गठबन्धन ५ हजार भन्दा बढी मतले अगाडि छ । पालिका तह चुनावमा आएको मतलाई जोगाउन सके गठबन्धनका उम्मेदवार गिरी बलियो अवस्थामा हुनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया