दैलेखमा मलाम रोकेर मतदान

 मंसिर ५, २०७९ सोमबार ७:२४:३४ | अमर सुनार
unn.prixa.net

दैलेख – भोट हाल्नकै लागि भारतबाट १५ दिनअघि घर फर्किएका महाबु गाउँपालिका–३ बाँसी गाउँका ७४ वर्षीय दलसिंह बोगटीको शनिवार दिउँसो निधन भयो । आइतवार उहाँको दाहसंस्कार गर्नुपर्थ्याे तर परिवारले मलामी रोकेर मतदान गरेका छन् । 

भगवती प्रावि रिठा मतदान केन्द्रमा शनिवार बिहान मतदानको घेराबार हेरेर फर्किए लगत्तै उहाँकाे निधन भएको थियाे । 

‘मतदान केन्द्रमा गएर कर्मचारीहरुलाई कपडा, पकाएर खाने भाँडाकुडा केही अभाव भए भन्नु भनेर कर्मचारीहरुलाई भन्नुभयो । घर फर्किएर श्रीमतीसँग कचौरामा दाल मात्रै माग्नु भएछ, दाल पिउँदै गर्दा ढलेर उहाँकाे प्राण गएछ’ दलसिंहको निधनबारे स्थानीय लालबहादुर सुनाउनुभयो ।

भारतको अहमदाबादबाट मतदानकै लागि शनिवार बेलुका गाउँ पुगेका जेठो छोरा वीरबहादुर बोगटी र बुहारी अनिता बोगटी बुबाकाे काजक्रियाका लागि आइपुगेकाे जस्तै भयाे । बुबाकाे निधनको खबर पाएका उहाँका कान्छो छोरा गणेश बोगटी र कान्छी बुहारी विमला बोगटी भारतको सिम्लाबाट हिँडिसक्नु भएका र बुधवार बिहानसम्म आइपुग्ने बताइएको छ ।

भोट हाल्ने बुबाको इच्छा पूरा नभए पनि हामीले चाहिँ भोट हाल्नुपर्छ भन्ने साेचेर मलाम रोकी मतदान गर्ने निर्णय गरेको दलसिंहका जेठो छोरा वीरबहादुरले बताउनुभयो ।

'हामी बुढाबुढी र जेठो छोराको परिवार भोट हाल्नकै लागि भारतबाट आयौँ, श्रीमानकाे अघिल्लो दिन निधन भयो । दाहसंस्कारका लागि लैजाऊँ भने पनि मलामी पनि कम होलान्, आफूले पनि भोट हाल्न छुट्ने भएकोले मलाम रोकेर मतदान गर्याैँ' दलसिंहकी श्रीमती पदमकलाले सुनाउनुभयो ।

उहाँकाे आज साेमवार दाहसंस्कार गरिने पदमकलाले बताउनु भयाे । 

‘छोराले लास कुर्यो बिहान मैँले भोट हालेर फर्किएँ, फेरि मैँले लास कुरेँ अनि छोरा भोट हाल्न गयो । आइतवार हामी समेत गाउँलेहरुले मतदान गरिसके पछि सोमवार आज दाहसंस्कार गर्ने तयारीमा जुटेका छौँ’ पदमकलाले भन्नुभयो । महाबु गाउँपालिका–३ बाँसी गाउँका स्थानीयकाे निधन हुँदा श्रीस्थानमा दाहसंस्कार गर्ने गर्छन्।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया