प्रसिद्ध अन्नपूर्ण पदमार्गमा पर्यटकको संख्या बढ्दै

 असोज १८, २०७५ बिहिबार १३:२४:३४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङबाट सुरु हुने प्रसिद्ध अन्नपूर्ण पदमार्गमा पर्यटकको संख्या बढ्दै गएको छ । 

मौसममा सुधार आउनुका साथै अवरुद्ध सडक खुलेसँगै यस पदमार्गमा आउने पर्यटकको संख्या बढ्दै गएको हो । 

पर्यटकीय सिजनमै बेसीशहर–चामे सडक पहिरोको कारण लामो समयसम्म अवरुद्ध हुँदा पर्यटकको आगमन संख्यामा केही कमी आएको थियो । तर बाटो खुलेसँगै पर्यटकको संख्या बिस्तारै बढ्दै गएको छ ।
 


अहिले अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको संख्या बढ्दै गएको एक्याप मनाङका प्रमुख बाबुलाल तिरुवाले बताउनुभयो । उहाँका अनुसार अहिले झण्डै १५० देखी २ सयको हाराहारीमा पर्यटक भित्रिएका छन् ।

‘अहिले दैनिक १५० देखि २ सयसम्म पर्यटक भित्रिएका छन् । पर्यटक आगमन संख्या बढ्दै छ,’ उहाँले भन्नुभयो । मनाङमा वर्षैभरी पर्यटक भित्रिने गर्दछन् । सरोकारवालाका अनुसार सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनालाई पर्यटकीय हिसाबले ‘पिक सिजन’ मानिन्छ ।

व्यवसायीहरु उत्साहित   

पर्यटकको आगमन संख्या बढ्दै गएपछि होटल व्यवसायीहरु पनि उत्साहित देखिएका छन् । बाटोको स्थिति बिग्रँदा पर्यटकको संख्यामा कमी आउँदा स्थानीय होटल व्यवसायीहरु निराश देखिन्थे । 

‘बाटोको स्थिति सुध्रिएसँगै पर्यटकको आगमन बढ्दै गएको छ । हामीहरु उत्साहित छौँ,’ चामेमा  मस्र्याङ्दी मण्डेला नामक होटल चलाउँदै आउनुभएका सन्तोष श्रेष्ठले भन्नुभयो । 

साइकलयात्रीको पनि आकर्षण

पछिल्लो समय यस पदमार्गमा साइकल र मोटरसाइकल यात्रीको पनि आकर्षण बढेको स्थानीय सञ्चारकर्मी नेगम परियारले जानकारी दिनुभयो । अन्नपूर्ण पदमार्ग निकै आकर्षक छ । 

माथिल्लो मनाङसम्म सडक बनेको छ । सडक बनेसंगै साईकल यात्री र मोटरसाईकल यात्रीको आकर्षण पनि बढेको छ ।

‘केही पर्यटक पैदल हिँडेरै आउँछन् । केही पर्यटक भने साइकल र मोटरसाइकालमा पनि आउँछन,’ उहाँले भन्नुभयो । 

पैदल यात्राको लागि साहसिक मानिएको अन्नपूर्ण पदमार्गमा पछिल्लो समय नेपालसहित विभिन्न देशका पर्यटकहरु आउने गर्दछन् । 

नेगमका अनुसार विशेषगरी अन्नपूर्ण पदमार्गमा चाइनिज, अष्ट्रेलियन, इजरायल, जापान, जर्मनी, फ्रान्स, बेलायत, अमेरिका लगायतका देशका पर्यटक आउने गर्दछन् । यो पदमार्ग उच्च हिमाली क्षेत्र अन्तर्गत पर्छ । 

लमजुङको बेसीशहरबाट सुरु हुने पर्यटकको यात्रा मनाङको ताल, सदरमुकाम चामे, माथिल्लो मनाङ, याकखर्क, बेसक्याम्प, ५ हजार ४ सय १६ मिटर उचाईको थोरङ्ला भन्ज्याङ पास गरी जोमसोम, म्याग्दीको तातोपानी, म्याग्दी हुँदै पोखरा पुगेर टुङ्गिने गर्दछ । 

पर्यटकहरु अन्नपूर्ण पदमार्गमा एक हप्तादेखि एक महिनासम्म बिताउने गर्दछन् ।    
 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया