किवीले बजार पाएन, बिक्री नभएपछि आफन्तलाई उपहार

 मंसिर १५, २०७९ बिहिबार १८:३१:४४ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – किवीले बजार नपाएपछि ताप्लेजुङका किसान चिन्तित बनेका छन् । किवीले बजार नपाउँदा बिक्री नभएर त्यसै खेर जाने अवस्थामा रहेको किसानको गुनासो छ । 

फुङलिङ नगरपालिका ७ दोखुका किसान राजकुमार गुरुङले ३० क्विन्टल (तीन हजार किलो) किवी उत्पादन गरेको बताउनुभयो । ३० क्विन्टल किवीमध्ये चार क्विन्टलमात्र बिक्री भएको बताउँदै उहाँले बाँकी किवी कहाँ लगेर बिक्री गर्ने भन्ने चिन्ता रहेको बताउनुभयो । 

बिक्री नभएका किवी छिमेकी तथा विभिन्न ठाउँमा रहेका आफन्तलाई उपहारसमेत पठाएको गुरुङले सुनाउनुभयो । होलसेल प्रतिकेजी एक सय ५० रुपैयाँका दरले बिक्री गर्दै आएको बताउँदै उहाँले अहिले भने किवीले बजार नपाएको बताउनुभयो । 

सिरिजंघा गाउँपालिका ७ का नरेन्द्र तिवारीले पनि दुःख गरेर रोपेको किवीले बजार नपाएपछि समस्या भएको गुनासो गर्नुभयो । किवी खेतमा रोपेको हुनाले धान रोप्न पनि नपाएको र अब किवी मासेर अन्य बाली लगाउन पनि जराले समस्या हुने उहाँले बताउनुभयो । 

किसानले महँगोमा बिक्री हुन्छ भनेर पाँच वर्षअघि किवी खेती गर्न थालेका थिए । तर अहिले बजार नपाउँदा मेहनत र लगानी खेर जाने चिन्ता भएको उनीहरूको गुनासो छ । 

जिल्लामा कोल्ड स्टोर नहुँदा पनि किवी कुहिएर खेर जाने गरेको छ । ‘एउटा कोल्ड स्टोर हुने हो भने हामीले पछिसम्म पनि बेच्न पाउने थियौँ’, किसान राजकुमार गुरुङले भन्नुभयो । किवी बिक्री नभएपछि किसानले अहिले घरेलु रक्सी बनाउन प्रयोग गर्ने गरेका छन् । 

किवी खेती १२ सय मिटरदेखि दुई हजार मिटरसम्म गर्न सकिन्छ । किवीको बोट एक पटक लगाएपछि वर्षाैँसम्म फल दिने भएकाले पनि किसान यसतर्फ आकर्षित भएका हुन् ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया