चिसो छल्न हिमाली जिल्लाका भेडा व्यवसायी डोटीमा

 मंसिर १९, २०७९ सोमबार ११:३२:१३ | विमल बिष्ट
unn.prixa.net

डोटी - हिमाली जिल्लामा बसोबास गर्ने प्रायजसाे भेडापालन व्यवसायीहरु हिउँदको समयमा चिसो छल्न परिवारसहित डोटीका विभिन्न ठाउँमा झर्ने गरेका छन् । व्यावसायिक रुपमा भेडापालन गरिरहेका भेडा व्यवसायीहरु चिसो मौसम सुरु हुन  थालेसँगै छिमेकी जिल्ला डोटीका विभिन्न फाँटहरुमा बसाइँ सरेका हुन् । 

अन्य वर्ष जस्तै यस वर्ष पनि चिसो मौसम छिचोल्न डोटी पुगेका बुढीनन्दा नगरपालिका–९ बाजुरा कोल्टीका चन्द बोगटीले आफ्नो रोजगारी र आयआर्जनको श्रोत नै भेडापालन भएकाले हिउँदको समयमा चिसोबाट जोगाउन डोटीका फाँटमा झरेको बताउनुभयो ।

बोगटीसँग अहिले ६० देखि ७०  वटासम्म भेडा छन् । चन्द्र बोगटीसहित तीन घर परिवार एक हप्तादेखि भेडासहित डोटीको दिपायल सिलगढी नगरपालिका–७ बुणामाजमा सडक छेउमा टेन्ट राखेर बस्दै आउनु भएको छ । उहाँहरु डोटीमा फागुन महिनासम्म बस्ने बताउनु हुन्छ । चार वर्षदेखि यही ठाउँमा बस्दै आएको उहाँहरुले बताउनुभयो ।

बुढीनन्द नगरपालिका–९ का अर्का भेडा व्यवसायी मानसिंह थापा भेडा पालन गर्नु आफ्नो मुख्य पेसा भएको बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘अन्य रोजगारी छैन्, भारत गएर कमाउन सक्दिनँ, हाम्रो पेसा, व्यववसाय भनेको यही नै हो, यो हाम्रो पुर्खाले नै गर्दै आएको हो त्यसैलाई हामीले निरन्तरता दिएका हौँ ।’ त्यही ठाउँमा डेरा सरेर आएका भेडा व्यवसायी बुढीनन्दा नगरपालिका–९ का शिवा गुरुङसँग भने भेडा पालनको छुट्टै अनुभव छ । उहाँ सुरुमा अरुका भेडाको गोठालो भएर काम गर्ने गर्नु हुन्थ्यो । 

त्यसपछि पछि उहाँले बिस्तारै आफैँ व्यवसायी रुपमा भेडा सुरु गर्दै आउनु भएको हो । उहाँले भन्नुभयो, ‘के गर्नु सुरुमा धेरै वर्ष अरुकै भेडाको गोठालो भइँयो, अहिले कसैका काठमाण्डाै, कसैका धनगढी, नेपालगञ्ज घर छन् आफ्नो भने यही जिन्दगी छ, आफूले पनि भेडा पाले केही कमाउन थालेको छु ।’ उहाँ अहिले उमेरले ४९ वर्षका हुनुभयो । उहाँले आफू पाँच वर्षको हुँदादेखि नै अरुकै भेडा हेर्ने काम गरेको सुनाउनुभयो । अहिले शिवासँग एक सयभन्दा बढी भेडाहरु रहेका छन् । उहाँ एक छोरा र श्रीमतीसहित भेडासँगै आउनु भएको छ । उहाँले भेडाबाट वार्षिक रुपमा ६ देखि ७ लाख आम्दानी गर्ने गरेको बताउनुभयो।

शिवाको बेसी तीर करिब ४/५ महिनाको बसाइँ हुने भएकोले कक्षा ३ मा पढ्दै गरेको वर्ष ८ को छोरा लोकसाम गुरुङ पनिसँगै आएकोले शिवालाई पढाइ बिग्रिने चिन्ता छ । बाजुरा, हुम्ला, जुम्लाका हिमाली क्षेत्रका प्रायजसाे भेडा व्यवसायीहरु हिउँदको समयमा चिसो छिचोल्ने विभिन्न ठाउँमा बसाइँ सर्ने गरेकाले प्रायजसाे बालबालिकाहरु पढाइबाट प्रभावित हुने गरेको पाइएको छ । सरकारले अस्थायी रुपमा बस्ती स्थान्तरणसँगै घुम्ती कक्षाहरु सञ्चालन गर्न सके थप प्रभावकारी हुने उनीहरुको भनाइ छ । हिउँदको चिसो छिचोल्न बेसी झरेका भेडा व्यवसायीहरु भेडाहरु बिक्री वितरण गर्नुका साथै उहाँको राडी, पाखी, डस्नाहरु पनि बिक्री गर्दै आइरहेका छन् । 

उहाँहरुले प्रति भेडा कम्तीमा पनि १५ हजार देखि ३५ हजारसम्म र राडी, पाखीहरु २ हजार देखि ५ हजारसम्म बिक्री गर्ने गरेको भेडा व्यवसायीहरु बताउँछन् । भेडा राखेबापत सामुदायिकवनलाई मासिक रुपमा ६ देखि ७ हजारसम्म रोयल्टी तीर्ने गरेको भेडा व्यवसायीहरु बताउँछन् । बाजुरा जिल्लाका हिमाली क्षेत्रका प्रायजसाे भेडा व्यवसायीहरु हिउँदको समयमा चिसो छिचोल्न डोटी, अछाम र बाजुराका विभिन्न ठाउँमा गएर बस्ने गर्दछन् 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया