डाेटीकाे पूर्वीचौकीमा भूकम्पले छाउगाेठ भत्किएपछि बनाइयाे छाउछाप्रो

 पुस १८, २०७९ सोमबार १३:५२:३९ | विमल बिष्ट
unn.prixa.net

डोटी - डाेटीकाे पूर्वीचाैकी-३ गैरागाउँकी १५ वर्षीया देवी भुलकाे घर कात्तिक २३ गते गएकाे भूकम्पले चर्कियाे । देवि भुलकाे परिवार अहिले बारीमा पाल टाँगेर बसेकाे छ । पाल नजिकै महिनावारी हुँदा बस्न च्यात्तिएको प्लास्टिक र परालले बेरबार पारेर छाउछाप्रो बनाइएकाे छ । भूकम्पले छाउगाेठ भत्काएपछि छाउछाप्राे बनाइएकाे हाे । फलेकमाथि एकसरो लुगामा  रात कटाउन निक्कै गाह्राे हुने देवी भुल बताउँछिन्।

गैरागाउँ खप्तड राष्ट्रिय निकुञ्जसँगै जोडिएको छ । गाउँमा खप्तड राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावरको समेत डर हुने गरेको छ । देवता रिसाउने र थप अनिष्ट हुने डरले भूकम्प गएपछिका दिनमा महिनावारी हुँदा अलग्गै बस्नुपर्ने प्रथालाई महिलाले अझ कडाइसाथ मान्दै आएका छन् । 

छाउगाेठ नजिक केही दिनअघि मात्र सर्प देखिएको स्थानीयवासी जयराम भुलले बताउनुभयाे । उहाँले भन्नुभयो, ‘यदि देउता नरिसाएको भए पुस महिनामा कसरी सर्प आयो । छाउपडी नमान्ने कुरा त हामी सोच्न पनि सक्दैनौँ ।’

महिनावारी हुँदा बस्नका लागि परम्परागत रुपमा बनाइएका छाउगोठ भूकम्पका कारण भत्किएका छन् । अहिले निर्माण गरिएका छाउगोठ हावा लाग्दा उडाएर लैजाने किसिमका छन् । एक जनाले खुट्टा तन्काएर सुत्न नमिल्ने ठाउँमा महिनावारी हुँदा तीन/चार जनाले कोचिएर प्रत्येक महिना पाँच दिनसम्म बस्नु परेको स्थानीयवासी मनिदेवी बोहाेराले बताउनु भयाे । 

उहाँले भन्नुभयो, ‘पहिलाका छाउगोठमा त भित्रै आगो बाल्न मिल्ने त हुन्थ्यो । आजभोलि ठाउँ नहुँदा आफू मात्र बस्न मिल्ने गरी बनाएका छौँ । छाउ हुँदा साह्रै समस्या हुन्छ । खुट्टा तानेर सुत्न सकिँदैन ।’ भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य शिक्षालगायतका जनचेतनामूलक क्रियाकलापको आवश्यकता रहेको छ । देउता रिसाउने र गाई–भैँसीले दूध नदिने डरले महिनावारी हुँदा, महिलालाई दूध, दहीलगायत पोसिलो खानेकुरा दिने गरिएको छैन ।

पूर्वीचौकी गाउँपालिकाका उपाध्यक्ष पशुपतिदेवी खड्काले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणलगायत विकासका लागि गाउँपालिकाले पहल गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भूकम्पपीडितका लागि अस्थायी रुपमा भए पनि घर निर्माणका लागि गाउँपालिका लागि रहेको छ, सक्दो सहयोग गर्छौँ ।’

राज्यले छाउपडी प्रथालाई अपराध मानेको छ । मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद १० दफा १६८ को उपदफा–३ मा महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन भन्ने कुरा उल्लेख गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया