राहदानी बनाउँदै हुनुहुन्छ ? झन्झटबाट बच्न यी कुरामा ध्यान दिनुहोस्

 फागुन २, २०७९ मंगलबार १६:४१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पछिल्लो समय राहदानी बनाउन नागरिकले निकै सास्ती खेप्न परिरहेको छ ।

सरकारले सहज रूपमा राहदानी प्रदान गर्ने भनेर भनी पनि रहेको छ । तर काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा लाइन लाग्नु पर्ने बाध्यताको अन्त्य भएको छैन । जिल्लाबाट राहदानी लिन सहज नभएको गुनासो पनि बढ्दो छ । विभागले एक महिनाका लागि अनलाइन आवेदन खुलाउने र राहदानी बनाउन आउनेहरूलाई विभिन्न उपायहरू अपनाउन भनिरहेको छ ।

राहदानी विभागले भिडभाड र सास्तीबाट बच्न आफ्नो कार्यक्रम वा विदेश भ्रमणको सम्भावना भएको भएमा समयमा नै आफ्नो जिल्ला प्रशासन वा इलाका प्रशासन कार्यालयबाट राहदानी बनाउन सुझाएको छ । यसो हुँदा विभागमा आएर लाइन लाग्न पनि नपर्ने र कम पैसामा राहदानी बन्ने विभागको भनाइ छ । 

यदि आफूसँग एमआरपी छ र त्यसको अवधि एक वर्षभन्दा कम छ भने त्यसको नवीकरण समयमा नै गर्नुपर्छ ।  यसो गर्दा अन्तिम समयमा दिनरात नभनेर राहदानी बनाउन खट्न पर्दैन ।

राहदानीका लागि अनलाइनमार्फत फारम भरी आफ्नो अपोइन्टमेन्ट मिति र समयमा मात्र राहदानी पाइन्छ । त्यसैले आफ्नो समय र मिति कुर्नै पर्छ । विभागमा गएर लाइन लाग्दैमा राहदानी पाइँदैन । आफ्नो जुन मिति र समयमा अपोइन्टमेन्ट हो त्यही बेलामा मात्र विभागमा जानु पर्छ ।

फारम भर्दा सचेत हुनुपर्छ । अनलाइनमार्फत भरेको विवरणको आधारमा नै राहदानी छापिने भएकाले फारम भर्दा आफ्नो विवरण शुद्ध भर्नु पर्छ । कागजात सक्कल अपलोड गर्न पर्छ र भरेका विवरण रुजु गरेर निश्चित भएपछि मात्र इनरोलमेन्ट सेन्टरमा पेस गर्नुपर्छ । यसो गर्दा विवरण गलत हुने सम्भावना कम हुन्छ र झन्झटबाट बचिन्छ ।

पुरानो राहदानी र नागरिकता प्रमाणपत्रमा विवरण फरक परेको छ भने आफ्नो जिल्ला प्रशासन कार्यालयबाट विवरण निश्चित गरेको प्रमाणसहित फारम भर्नुपर्छ । 

दोहोरो फारम भर्न हुँदैन । यदि यसो गरेमा फारम नै रद्द हुने  भएकाले एक जनाले एउटा मात्र अनलाइन फारम भर्नु पर्छ । 

आफ्नो पालोमा राहदानीको फारम भर्न र अरू बिचौलियाको भर नपर्न विभागले अनुरोध गरेको छ । 

राहदानी तयार भएको भन्ने म्यासेज आएपछि लिन वा अस्वीकृति भएको म्यासेज आएमा विवरण सच्चाएर फेरि बायोमेट्रिक गर्न इनरोलमेन्ट सेन्टरमा जानुपर्छ ।

पछिल्लो समय राहदानी लिन खोज्नेको सङ्ख्या धेरै रहेको भन्दै अनलाइन फारम भरी आफ्नो पालो कुर्न विभागले अनुरोध छ । 

विद्युतीय राहदानी देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय, १७ वटा इलाका प्रशासन कार्यालय र ३८ वटा विदेशस्थित नेपाली नियोगहरूबाट जारी भइरहेको छ ।

जसलाई तत्काल राहदानी आवश्यक परेको छ उनीहरूले द्रुत सेवामा काठमाण्डौमा रहेको राहदानी विभागबाट बनाउन सक्ने व्यवस्था छ । बायोमेट्रिक भएपछि सबै विवरण सही भएमा काठमाण्डौबाट तीन दिनमा राहदानी  पाउने व्यवस्था छ भने जिल्लाबाट पनि १५ दिनदेखि एक महिनाभित्र राहदानी उपलब्ध हुने विभागले जनाएको छ ।

विभागले दैनिक ६ हजारको सङ्ख्यामा राहदानी छाप्ने गरेको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया