दुबई : पार्किङ क्षेत्रमा देखिने कोडको अर्थ के हो ?, कुन ठाउँमा पार्किङ गरेको शुल्क कति ?

 चैत २, २०७९ बिहिबार १६:१३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

वैदेशिक रोजगारी होस् या अन्य सिलसिलामा धेरै नेपाली यूएईको दुबईमा कार्यरत छन् । यदि तपाईं पनि दुबईमा हुनुहुन्छ र कार चलाउनुहुन्छ भने सशुल्क पार्किङ गर्नुपर्ने अवस्था आउनसक्छ । 

तर कुनै पनि पार्किङ क्षेत्रमा पार्किङ गर्न मिल्छ मिल्दैन, शुल्क कति हो भनेर कसरी थाहा पाउने त ? यस्तो अवस्थामा त्यहाँ टाँसिएको साइनबोर्डमा लेखिएको कोड नम्बर र अक्षरमा ध्यान दिनुहोस् । यसले तपाईंलाई पार्किङ गरेकाे शुल्क कति हो र कतिबेला निःशुल्क पार्किङ गर्न मिल्छ भन्ने थाहा हुन्छ । तर त्यसको लागि कोड र अक्षरको अर्थ बुझ्नुपर्ने हुन्छ ।

यदि सशुल्क पार्किङ क्षेत्र हो भने पँहेलो र नीलो रङ्गको साइनबोर्डमा अक्षर र कोड नम्बर लेखिएको हुन्छ । जसमा तीन अंकको संख्या र एक अंग्रेजी अक्षर हुन्छ । जस्तै 343D । यहाँ अक्षर भनेको पार्किङ कोड हो, जसले केही कुरालाई निर्धारण गर्छ । 

पार्किङ शुल्क कति हो ? कति अवधिसम्म पार्किङ गर्न मिल्छ ?, पार्किङ क्षेत्र कतिबेला निःशुल्क हुन्छ । त्यो पार्किङ क्षेत्रमा तपाईंले टिकट लिनुको साटो, सिजनल पार्किङ कार्ड प्रयोग गर्न सक्नुहुन्छ या हुँदैन भन्ने कुरा साइनबोर्डमा लेखिएको अक्षरले दर्शाउँछ । जसलाई दुई श्रेणीमा छुट्याइएको छ । श्रेणी १ ले व्यावसायिक क्षेत्रलाई जनाउँछ । जसको पार्किङ कोड ए र बी हुन्छ । श्रेणी २ ले गैर व्यावसायिक र आवासीय क्षेत्रलाई समेट्छ । यसको पार्किङ कोड सी र डी तोकिएको हुन्छ । सिजनल पार्किङ कार्ड यी चार क्षेत्रमा मात्रै मान्य हुन्छन् ।

यस्तै अन्य पार्किङ क्षेत्रलाई एफ, जी, एच, आई, जे र के कोडका आधारमा छुट्याइएको हुन्छ । तर कोडभित्र के पर्छ त ?

कोड ए

कोड ए भएका पार्किङ संकेतले व्यावसायिक क्षेत्रका रोड छेउमा भएका पार्किङलाई जनाउँछन् । यहाँ पार्किङ समय छोटो हुन्छ, एउटा टिकटमा बढीमा ४ घण्टासम्म । र यो कारको लागि मात्रै पार्किङ हो । पार्किङ समय, सोमबारदेखि शनिबार बिहान ८ देखि राति १० बजेसम्म । आधा घण्टाको २ दिर्हामको हिसाबले शुल्क लाग्छ ।

कोड बी

कोड बी पनि व्यावसायिक क्षेत्रतिरका पार्किङलाई जनाउँछ । यो कोड भएका क्षेत्रमा पार्किङ एक टिकटमा २४ घण्टासम्म पार्किङ गर्नमिल्छ । यहाँ पाँच घण्टासम्म प्रति घण्टा ३ दिर्हामको हिसाबले शुल्क तोकिएको छ भने २४ घण्टाको २० दिर्हाम छ ।

कोड सी

कोड सी भन्नाले गैर व्यावसायिक तथा आवासीय क्षेत्रका पार्किङ पर्छन् । कोड ए जस्तै यो पनि रोड छेउको पार्किङ हो र बढीमा ४ घण्टासम्म पार्किङ गर्न मिल्छ । यहाँ एक घण्टा पार्किङ गरेको २ दिर्हाम, २ घण्टाको ५, ३ घण्टाको ८ र ४ घण्टाको ११ दिर्हाम शुल्क तोकिएको छ ।

कोड डी

कोड डी ले गैर आवासीय क्षेत्रलाई दर्शाउँछ । यहाँ २४ घण्टासम्म पार्किङ गर्न मिल्छ । सोमबारदेखि शनिबार बिहान ८ बजेदेखि राति दश बजेसम्म पार्किङ गर्न मिल्छ । यहाँ एक घण्टाको २ दिर्हाम, ४ घण्टाको ७ दिर्हाम र २४ घण्टाको १० दिर्हाम छ ।

कोड एफ

कोड एफले टेकम क्षेत्र, नलेज पार्क, दुबई मिडिया सिटी र दुबई इन्टरनेट सिटी क्षेत्रलाई संकेत गर्छ । यहाँ सोमबोरदेखि शनिबार बिहान ८ देखि साँझ ६ बजेसम्म मात्र पार्किङ गर्न मिल्छ । यस क्षेत्रमा एक घण्टा पार्किङको २ दिर्हाम, दुई घण्टाको ५ दिर्हाम, तीन घण्टाको ८ र चार घण्टाको ११ दिर्हाम शुल्क छ ।

कोड डी

डाउनटाउन सिटी, मरासी बे क्षेत्र र दुबई हेल्थ केयर सिटीको पार्किङ कोड डी हो । यहाँ सोमबार बिहान ८ देखि राति दश बजेसम्म पार्किङ गर्न मिल्छ । यहाँप्रति घण्टा चार दिर्हाम शुल्क तोकिएको छ ।

कोड एच

दुबई सिलिकन ओसिसको क्षेत्रलाई एच कोडले संकेत गर्छ । यहाँ पनि प्रति घण्टा पार्किङ शुल्क चार दिर्हाम तोकिएको छ ।

बाँकी रहेका कोड आई, जे र के ले जुमेरा लेक टावर क्षेत्रलाई जनाउँछन् । 

कोड आई लेखेको पार्किङ क्षेत्र अलि महँगो छ । यहाँ प्रतिघण्टा पार्किङ गरेको १० दिर्हाम तिर्नुपर्छ । कोड जे मा पार्किङ शुल्क आधा घण्टाको दुई दिर्हाम छ भने चार घण्टाको २२ दिर्हाम छ । यस्तै कोड के मा सात घण्टासम्म प्रतिघण्टा चार दिर्हाम र ८ देखि २४ घण्टासम्मको ३२ दिर्हाम शुल्क छ ।

यस्तै दुबईमा बहुतले पार्किङ व्यवस्था पनि छ । चौबिसै घण्टा, सार्वजनिक बिदाको दिन पनि यो पार्किङको प्रयोग गर्न सकिन्छ । यहाँ पार्किङ गरेको प्रति घण्टा ५ दिर्हाम र भ्याट शुल्क अलग्गै तिर्नुपर्छ ।

गल्फ न्युजबाट ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • मिलन तामाङ

    March 16, 2023, 5:04 p.m.

    uae शपिङ मलहरुमा चै 3/4 घन्टा फ्री हुन्छ है त पार्किङ

  •  0 Reply

तपाईको प्रतिक्रिया