वैदेशिक राेजगारीमा जान फागुनमा मात्रै झण्डै ६२ हजारले लिए श्रम स्वीकृति

 चैत ६, २०७९ सोमबार १७:५१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सरकारले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने जनाए पनि गएकाे फागुन महिनामा मात्रै वैदेशिक रोजगारीमा जानका लागि झण्डै ६२ हजार जनाले श्रम स्वीकृति लिएका छन् ।

फागुनमा नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत गरी ६१ हजार आठ सय ४५ ले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । यस्तै ३६ हजार ९९४ ले पहिलाे पटक विदेश जान श्रम स्वीकृति लिएका छन् । जसमध्ये महिलाकाे सङ्ख्या ३ हजार ४२५ रहेकाे छ ।

फागुनमा सबैभन्दा बढी मलेसियाका लागि १९ हजार आठ सय २४ ले श्रम स्वीकृति लिएका छन् । कतारका लागि ११ हजार तीन सय तीन, संयुक्त अरब इमिरेट्सका लागि नौ हजार सात सय ९५, साउदी अरेबियाका लागि नौ हजार पाँच सय तीन, कुवेतका लागि दुई हजार चार सय ६२, दक्षिण कोरियाका लागि दुई हजार दुई सय २७ र रोमानियका लागि एक हजार ७० जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ ।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेमा अदक्ष कामदारको सङ्ख्या उल्लेख्य रहेको छ । फागुनमा १३ हजार पाँच सय ८० अदक्ष कामदारले श्रम स्वीकृति लिएका छन् । ४२ हजार सात सय १८ दक्ष, पाँच हजार चार सय ४९ अर्धदक्ष, ६८ व्यावसायिक र ३० उच्च दक्ष श्रमिकले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया