डोटीका ६५ मध्ये ३३ वटा वडा कार्यालय सचिवविहीन, सेवाप्रवाहमा समस्या

 बैशाख १२, २०८० मंगलबार १३:३२:२० | विमल बिष्ट
unn.prixa.net

डाेटी - डोटीका ६५ वडामध्ये ३३ वटा वडा कार्यालय सचिवविहीन भएका छन् । नौ वटा पालिका रहेको डोटीमा ६५ वडा रहेका छन् । तीमध्ये ३३ वटा वडा कार्यालयमा सचिवको दरबन्दी रिक्त छ ।

सचिव नभएका वडाहरुमा गाउँपालिकाका प्राविधिक र अन्य कर्मचारीले सेवा दिइरहेका छन् । ६ वटा वडा रहेको सायल पालिकामा एक जना पनि वडासचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भट्टले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकामसमेत रहेको दिपायल सिलगढी नगरपालिकाका ४ वटा वडामा लामो समयदेखि वडासचिव छैनन् । ५, ७, ८ र ९ सचिवविहीन रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सुचीकारले जानकारी दिनुभयो । यसैगरी ११ वडा रहेको शिखर नगरपालिकामा पनि ४ वटा वडामा सचिव रिक्त रहेका छन् । वडामा सचिव नहुँदा एउटै व्यक्तिले दुई वटा वडा हेर्नुपर्ने बाध्यता रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले बताउनुभयो ।

बडीकेदार गाउँपालिकामा पाँचमध्ये तीन वटा वडा सचिवविहीन छन् । वडा नं १, २ र ४ मा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलाराज भट्टले बताउनुभयो । जोरायल गाउँपालिकामा ६ वडामध्ये ३ र ६ मा सचिवको दरबन्दी रिक्त रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज भट्टले जानकारी दिनुभयो ।

यसैगरी ७ वटा वडा रहेको बोगटान फुड्सिल गाउँपालिकाका ६ वटा वडामा सचिव छैनन् । यो गाउँपालिकाको वडा ३ मा मात्र सचिव रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतबहादुर चन्दले बताउनुभयो । यसैगरी ७ वटा वडा रहेको केआईसिंह गाउँपालिकामा पनि १ र ७ मा सचिव अभाव रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरत परियारले जानकारी दिनुभयो ।

७ वटा वडा रहेको पूर्वीचौकी गाउँपालिका र आदर्श गाउँपालिकामा पनि तीनवटा वडामा सचिवको दरबन्दी रिक्त छ । पालिकामा रिक्त दरबन्दीअनुसारका कर्मचारी लोकसेवाले माग नगर्नुले पालिकामा कर्मचारी अभाव हुने गरेको सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका उपसचिव हीरालाल चौधरीले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका ८८ पालिकामध्ये ४० वटाले मात्रै केही आवश्यक कर्मचारी माग गरेको उपसचिव चौधरीको भनाइ छ । वडा सचिवसहित दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया