चलचित्र ‘हल्कारा’ आजदेखि प्रदर्शनमा

 बैशाख २९, २०८० शुक्रबार ११:२८:३३ | रासस
unn.prixa.net

काठमाण्डाै - गाउँ–गाउँ पुगेर चिट्ठी वितरण गर्ने हुलाकी अर्थात् ‘हल्कारा’ को कथामा बनेको चलचित्र आजदेखि प्रदर्शनमा आएको छ । याे चलचित्रकाे निर्देशन विक्रम सापकोटाले गरेका हुन् ।

कलात्मक शैलीलाई उजागर गरेर तयार गरिएको चलचित्र बजारमा आइरहेका चलचित्रभन्दा कम नरहेको निर्देशक विक्रम सापकोटाकाे दाबी छ । 

उनले भने, 'हुलाकीको आँखाबाट भनिएको जीवनको मर्मस्पर्शी कथा बोकेको चलचित्रमा वैदेशिक रोजगारीको आयामलाई प्रस्तुत गरिएको छ ।'

हुलाकीको सपना र अन्तरसङ्घर्षलाई प्रस्तुत गरिएको यस चलचित्रमा गाउँको परिस्थिति र सामाजिक सचेतना पनि समेटिएको छ । निर्देशक सापकोटा नेपालमा स्थापित चलचित्रको भाष्य शैलीमा समेत यसले परिवर्तन ल्याउनेमा विश्वस्त छन् । चलचित्रमा महेश त्रिपाठी, विनिता थापामगर, उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारले अभिनय गरेका छन् । 

चलचित्रमा शीर्षभूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गरेका छन् । हुलाकीलाई बाल्यकालमा देखेका अभिनेता त्रिपाठीलाई चरित्र निर्माण गर्न निर्देशक सापकोटाले पटकथामा तयार पारेकाे पात्रले सहज बनायो । 'चलचित्रले बाल्यकालको स्मृतिलाई ताजा बनायो । हुलाकीसँग जोडिएको सन्दर्भ सम्झेँ । आफ्नो पात्रलाई पढेपछि बाध्यता र स्थितिलाई महसुस गरेँ', अभिनेता त्रिपाठीले भने । 

चलचित्रमा विनिता थापामगरले अर्को महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् । रङ्गमञ्च हुँदै चलचित्रको पर्दामा आइपुगेकी अभिनेत्री थापामगरलाई मुख्य चरित्र निर्वाह गर्न धेरै समय लाग्यो । अभिनेत्री थापामगरले भनिन्, 'यसमा अभिनेत्रीको परिभाषालाई पछ्याइएको छैन । उसको सुन्दरता अनुहारमा नभइ पात्रको विभिन्न आयाममा झल्किन्छ । पात्र बाँचेकी छु ।'

यसको लेखक निर्देशक सापकोटासँगै कवि विप्लव प्रतीक र आकाश बराल पनि हुन् । चिन्तन राजभण्डारी छायाँकार रहेका चलचित्रलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् । चलचित्रलाई जीजीए समूहअन्तर्गत रहेर करण श्रेष्ठले वितरण गरेका हुन्। 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया