कवि ढकालको कविताकृति ‘अन्तरमनको झङ्कार’ लोकार्पण

 असार १४, २०८० बिहिबार २०:२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कवि भैरव ढकालको कविता कृति ‘अन्तरमनको झङ्कार’ को आज बिहीवार लोकार्पण भएकाे छ । काठमाण्डाैकाे पद्मकन्या क्याम्पसमा एक कार्यक्रमकाबीच प्रा. डा. खेम कोइराला बन्धुले कृतिकाे लाेकार्पण गर्नुभयाे । कार्यक्रमको उद्घाटन योग प्रशिक्षक लेखनाथ पन्तले स्वस्ति वाचन गरेर गर्नुभएको थियो ।

कृति लाेकार्पण गर्दै बन्धुले धेरै अगाडि आफू सम्पादक रहेको ‘नौलो नेपाली’ मासिक पत्रिकामा रचना प्रकाशित गर्नुभएका कवि ढकालले धेरैपछि मात्र कविताकृति ल्याए पनि अब अरू कृति भने समयमै आउने आशा व्यक्त गर्नुभयाे । उहाँले गर्नेभन्दा गराउने ठूलो हुने भन्दै कृतिका सम्पादक कृष्ण बाउसेको पनि प्रशंसा गर्नुभयो । उहाँले महाभारतको प्रसङ्ग जोड्दै कृष्णले कहिले पनि युद्ध आफ्ना कारणले जितेको नभई युधिष्ठिर र अर्जुनले जितेको भनेझैँ यस कृतिमा पनि सम्पादक बाउसेकाे भूमिका रहेको बताउनुभयो । 

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली समाज (अनेसास) का पूर्वअध्यक्ष राधेश्याम लेकालीले हामीहरूले हतारमा लेख्ने र हतारमा छाप्ने गरेकाे भन्दै कवि ढकालले भने ५० वर्ष लगाएर कृति तयार गरेको बताउनुभयो । उहाँले कृति छाप्ने कुरा ठूलो नभएको भन्दै राम्रो सम्पादकलाई सम्पादन गराएर कृति लिएर आउँदा विश्व बजारमा लान पनि सजिलो हुने बताउनुभयो । प्रकाशित कृतिमा कविता लेखिएको ठाउँ र साल पनि भएको भए समालोचकलाई समीक्षा गर्न अझ सजिलो हुने उहाँकाे भनाइ छ ।

शिक्षासेवी यशोदा भट्टराईले अमेरिकामा रहने कविले उतै कृति लोकार्पण नगरेर यता आएर गर्नुमा स्वदेश प्रेम देखिएको टिप्पणी गर्नुभयाे । यस्तै उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले प्रकाशित कृतिमा केही उत्कृष्ट र केही परिमार्जन गर्नुपर्ने कविता रहेकाे बताउनुभयाे ।

कार्यक्रममा विभिन्न कविहरूले कृतिमा रहेका कविता वाचन गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया