बालकको ज्यान गएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफन्तकाे प्रदर्शन, सेवा ठप्प हुँदा बिरामी मर्कामा

 असार २९, २०८० शुक्रबार १४:५६:३३ | हेमराज शर्मा
unn.prixa.net

दाङ - राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा उपचारका लागि लगिएका बालकको ज्यान गएपछि आफन्तले गरेको आन्दोलनका कारण अस्पताल तनावग्रस्त बनेको छ । मृतकका आफन्तकाे धर्ना र प्रदर्शनका कारण अस्पतालकाे सेवा आज दोस्रो दिन पनि ठप्प भएको हाे । आज पनि बिहानैदेखि मृतकका आफन्तले प्रदर्शन गरिरहेका छन् । 

बिहीवार हिजाे उपचारका क्रममा घोराही उपमहानगरपालिका वडा नम्बर ३ का १० वर्षीय आक्रोस नेपालीको ज्यान गएको थियो । 

एमआरआई गर्ने क्रममा डाक्टर र स्वास्थ्यकर्मीहरुको लापरबाहीका कारण बालककाे ज्यान गएकाे भन्दै पीडितका आफन्तहरु दोषीलाई कारबाहीसँगै क्षतिपूर्तिको माग गर्दै आन्दोलित भएका हुन् । सामान्य अवस्थाको बिरामीकाे अस्पतालको लापरबाहीका कारण ज्यान गएको उनीहरुकाे आराेपमा छ । 

प्रतिष्ठानको गेटभित्रै काउन्टरमा पीडितहरुले धर्ना दिएपछि सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले बताउनु भयाे । मृतकका आफन्तहरुले धर्ना दिएपछि उपचारका लागि प्रतिष्ठान पुगेका बिरामीहरु समस्यामा परेका छन् ।

बालकको ज्यान गएकाे विषयमा छानबिन समिति बनाउने सँगै बालककी आमालाई रोजगारी र उपचार खर्च बेहोर्न प्रतिष्ठान तयार रहे पनि पीडित पक्षको मागअनुसार रकम दिन नमान्दा सहमति हुन नसकेको बताइएकाे छ । तर प्रतिष्ठानले भने पीडित पक्षसँग वार्ता जारी रहे पनि कुनै समाधान हुन नसकेको जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया