पीडित पक्ष र अस्पतालबीच सहमतिपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सुरु

 असार ३०, २०८० शनिबार १०:३६:४९ | हेमराज शर्मा
unn.prixa.net

फाइल तस्बिर

दाङ – दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सुरु भएको छ । उपचारका क्रममा ११ वर्षीय बालकको ज्यान गएको घटनापछि पीडित पक्ष र अस्पतालबीच गएराति भएको वार्तामा सहमतिमा जुटेपछि अस्पतालको सेवा सुरु भएको हो ।

सहमतिपछि परिवारले आज बिहान बालकको शव बुझेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन कुमार गौतमले बताउनुभयो । बालकको ज्यान गएपछि आफन्तले गरेको आन्दोलनका कारण प्रतिष्ठानको सेवा दुई दिनदेखि प्रभावित भएको थियो । पीडित र अस्पताल पक्षबीच घटनाको छानबिन गर्ने र घोराही–३ का वडा अध्यक्षको नेतृत्वमा छानबिन समिति बनाउने सहमति भएको छ ।

त्यस्तै पीडित परिवारका लागि शैक्षिक योग्यताअनुसार मृतकको परिवारलाई रोजगारी दिने, आर्थिक सहयोग जुटाउन सर्वपक्षीय समिति बनाई सहयोग संकलन गर्ने र त्यसका लागि घोराही उपमहानगरपालिकालाई राहत उपलब्ध गराउन अनुरोध गर्ने सहमति भएको छ । यस्तै पीडित परिवारका लागि सहयोग गर्न संघ र प्रदेश सरकारका समक्ष आग्रह गर्ने सहमति पनि भएको छ ।

छारे रोगको उपचारका लागि प्रतिष्ठानमा आएका घोराही उपमहानगरपालिका–३ का ११ वर्षका आक्रोश नेपालीको अस्ति बिहान ज्यान गएपछि आफन्तले स्वास्थ्यकर्मीको लापरबाहीले घटना भएको भन्दै आन्दोलन गरेका थिए । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया