वित्तीय साक्षरता कक्षापछि धादिङको नीलकण्ठमा १० महिलाले थाले सामूहिक कृषि खेती

 साउन ४, २०८० बिहिबार १४:३२:२६

सरस्वती लम्साल थापा । 

धादिङ – धादिङबेसीबाट ५ किलोमिटर पूर्व गएपछि पुगिन्छ बसाह गाउँ । गाउँमा लगभग ५० घरधुरी छन् । धेरैजसो घरहरू पक्की छन् । गाउँका अधिकांश युवाहरू पैसा कमाउन विदेश गएका छन् ।

युवाहरू भेटिनै मुस्किल छ गाउँमा । बालबच्चा पढाउने र घर व्यवहार चलाउने जिम्मेवारी महिलाहरूले सम्हालिरहेका छन् । विदेशबाट आएको पैसाले नै नुनदेखि सुनसम्मको जोहो गर्नुपर्ने बाध्यतामा छन् उनीहरू ।

तर पछिल्लो समय भने विदेशको कमाइमा मात्र होइन, आफैँ पनि केही गर्नु पर्छ भनेर महिलाहरू जागरूक हुन थालेका छन्  । सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत बसाह वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा बसेका १० जना महिलाहरूले गएको असारदेखि सामूहिक रूपमा कृषि खेती थालेका हुन् । 

पैसाको हरहिसाब राख्ने, विदेशबाट आएको पैसाको सही सदुपयोग गर्ने र आफूहरूले पनि केही गर्न सकिन्छ भन्ने कुरा कक्षामा बसेपछि ज्ञान पाएको उनीहरू बताउँछन् ।

उनीहरूको गाउँमा २०७९ पुस १८ गतेदेखि वित्तीय साक्षरता कक्षा सञ्चालन भएको थियो ।  हप्ताको १ दिन २१ हप्तासम्म चलेको यो कक्षा गएको जेठमा सकिएको हो । कक्षा समापन भएसँगै कक्षामा सिकेको ज्ञान र सीपलाई प्रयोग गर्दै गएको असार १२ गतेदेखि टनेल बनाएर बेमौसमी तरकारी उत्पादन थालेको उनीहरूले बताएका छन् । 

सामूहिक कृषि खेतीका लागि १० जनाले कृषि ज्ञान केन्द्रबाट १० लाख रुपैयाँ अनुदान पाएका छन् । अनुदानबाट पाएको रकममा उनीहरूले प्रत्येक व्यक्ति एक एक लाख रुपैयाँ लगानी गरी जम्मा २० लाख रुपैयाँको लगानीमा व्यवसाय सुरु गरेका हुन् । 

कक्षामा बसेपछि पैसाको महत्त्व बुझेको, व्यावसायिक योजना बनाउन सिकेको र गर्न सकिने धेरै सम्भावनाहरू देखेकाले व्यावसायिक टनेल खेती सुरु गरिएको समूहकी सदस्य रुपा नेपालले बताउनुभयो । 

‘समूहमा आएपछि पैसाको महत्वबारेमा धेरै जानकारी पाइयो’ समूहकी अर्की सदस्य मानकुमारी नेपाल भन्नुहुन्छ ‘यो कक्षाले पैसालाई हेर्ने हाम्रो नजर नै बदलिदियो, पहिला त आफ्नो क्षमता के छ भन्ने कुराहरू आफूलाई नै थाहा रहेनछ ।’

‘कक्षामा आएपछि हाम्रो तेस्रो नेत्र खोलियो’ सदस्य रुपा भन्नुहुन्छ ‘अब हामी महिलाहरूले पनि व्यवसाय गर्न सक्ने रहेछौँ भन्ने आँट आएको छ, श्रीमानको कमाई सँगसँगै अब हामीहरूले पनि स्वदेशमै स्वरोजगारी बन्नुपर्ने रहेछ ।’

अहिले महिलाहरूले बाँसको टनेल बनाएर त्यस भित्र गोलभेँडा र धनियाँ रोपेका छन् । बेमौसमी तरकारी खेती गर्दा तरकारीको भाउ राम्रो आउने भएकोले टनेल खेती गर्न लागिएको सहभागी सोविता पन्तको भनाइ छ । 

कक्षामा बसेर व्यावसायिक योजनाको विषयमा छलफल गर्दा आफ्नो ठाउँमा पनि टनेल खेतीको सम्भावना देखिएको महिलाहरू बताउँछन् । 

‘स्वदेशमै स्वरोजगार बन्न सकियो भने विदेश जानुपर्ने बाध्यता हट्ने रहेछ’ समूहकी सदस्य रुपा भन्नुहुन्छ ‘त्यो बाटो हामीले समातेका छौं ।’ 

(सरस्वती लम्साल थापा धादिङको नीलकण्ठ नगरपालिकामा सामी कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता सहजकर्ता हुनुहुन्छ । सामी नेपाल सरकार र स्वीस सरकारबीचको दुई पक्षीय कार्यक्रम हो ।)

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया