डोटीमा मुक्त हलियाका लागि बनेका घर खण्डहर : मुक्त हलिया नै नबसेपछि संरचना भत्किए

 भदौ १९, २०८० मंगलबार १०:२५:२६ | विमल बिष्ट
unn.prixa.net

डाेटी - डोटीमा मुक्त हलियाको पुनः स्थापनाका लागि झण्डै सात वर्ष पहिले निर्माण गरिएका घर भत्किन थालेका छन् । धेरैजसो घर जगदेखि नै भत्किइसकेका छन् भने कतिपय भत्किने अवस्थामा छन् । पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा मुक्त हलिया पुनः स्थापनाका लागि निर्माण गरिएका ती घरमा कोही पनि नबसेपछि संरचना खण्डहर बनेका हुन् ।

पुस्तौँदेखि मालिकको घरमा हलो जोतेका १८ परिवार बस्नका लागि सरकारले घर निर्माण गरेको थियो । सरकारले घर निर्माण गरे पनि पानी तथा बिजुलीलगायतका अत्यावश्यक पूर्वाधार नहुँदा कोही पनि बस्न नसकेको हलिया मुक्ति समाज डोटीका अध्यक्ष बजिरसिंह नेपालीको गुनासो छ ।

उहाँले भन्नुभयो, ‘हलिया बस्ती स्थापनाका लागि विद्यालय, खानेपानी, विद्युत् तथा न्यूनतम विकासका पूर्वाधार हुनुपर्ने कार्यविधिमा उल्लेख भए पनि कुनै पूर्वाधार विना बगलेकको बीच जङ्गलमा बस्ती बसाउँदा समस्या भएको हो ।’

डोटीमा मुक्त हलियाका नाममा जमिन तथा घर निर्माण भएको तर बगलेकमा निर्माण भएको बस्तीमा किन हलिया बसेनन् भन्ने बारेमा आफूलाई धेरै कुरा थाहा नभएको जिल्ला मालपोत कार्यालयका प्रमुख प्रेमबहादुर माझीले जानकारी दिनुभयो ।

मुक्तहलिया पुनः स्थापना बस्तीमा एक घर पनि मापदण्डअनुसार नबनेका स्थानीयवासीको आरोप छ । बस्तीमा जस्तापाताले छाएका घर भुइँतले मात्र छन् भने उचाइ सात फिटभन्दा तल छ । बगलेकमा मापदण्डअनुसारका घर नबनेको जानकारी आफूलाई पनि प्राप्त भएको मालपोत कार्यालयका प्रमुख माझीले स्वीकार गर्नुभयो । दुई कोठे भवन निर्माणको नक्सा भए पनि सानो आकारको टहराजस्तो घर निर्माण गरेर मुक्तहलियाले अनुदान लिएको पाइएको छ ।

सरकारले जग्गा खरिदका लागि दुई लाख र घर निर्माणका लागि तीन लाख २५ हजार रुपैयाँ दिएको प्रमुख माझीले बताउनुभयो । २०७४ असारमा नमुना हलिया बस्ती निर्माणका लागि अन्तिम तयारी गरेको अवस्थामा आर्थिक चलखेल भएको खबर बाहिरिएपछि जग्गा खरिदका लागि काटिएको ७८ लाख रुपैयाँको चेक कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा जम्मा गरिएको थियो ।

हनुमान हर्टिकल्चर प्रालिका नाममा रहेको जमिन २०७५ असारमा फेरि १८ जनाले व्यक्तिगत जग्गा खरिद गरेर पास भएको थियो । हलियाका लागि बनाएका बस्तीमा हलिया नै नबस्नुको कारण खोजी गर्न र थप अनुसन्धान गर्न स्थानीय बासिन्दाको माग छ ।

डोटीको पूर्वीचौकी गाउँपालिका–२ बगलेक र दिपायल सिलगढी नगरपालिका–७ मा मुक्तहलियाका ३० परिवारको पुनःस्थापनाका लागि जग्गा खरिद तथा घर निर्माण गरिएको छ । प्रतिपरिवार पाँच लाख २५ हजार रुपैयाँको लगानी भएको भए पनि परिवार पुरानो घर र धेरै जसो हलिया कैलालीमा घर बनाएर बस्दै आएका छन् ।

जिल्लामा एक हजार एक सय ५३ जना हलियाकाे पुन:स्थापना भएको पाइएको छ । ३३ जना हलियाले एक किस्ता मात्र पाएका छन् भने ६७ जनाले परिचय पत्र पाएको तथ्याङ्क छ । ८७ जना लिस्टमा भएका तर परिचयपत्र नपाएका रहेको मुक्त हलियाका अध्यक्ष नेपाली जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया