यसपालि अहिलेसम्म झण्डै ३५ हजार जनालाई डेङ्गी सङ्क्रमण, ३० जनाको ज्यान गयो

 असोज १९, २०८० शुक्रबार ८:४६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यसपालि अहिलेसम्म झण्डै ३५ हजार जनालाई डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । गएको पुस १५ गतेदेखि अहिलेसम्म झण्डै ३५ हजार जनालाई सङ्क्रमण पुष्टि भएकाे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाको किटजन्य रोग निवारण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार यो अवधिमा डेङ्गी भएर ३० जनाको ज्यान गएको छ । पोहोर ८८ जनाको ज्यान गएको थियो भने ५५ हजारभन्दा धेरै सङ्क्रमित भएका थिए ।

अहिले डेङ्गीको सङ्क्रमण नियन्त्रणतर्फ उन्मुख भए पनि जोखिम भने कायमै रहेको डाक्टर दाहालले बताउनुभयो । उहाँका अनुसार आउँदो कात्तिक महिनासम्म नै डेङ्गीको जोखिम रहने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन डाक्टरको सुझाव छ । लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गी सङ्क्रमणबाट जोगिनु एकमात्र उपाय हो ।

लामखुट्टेले फुल पार्ने र लार्भा हुर्कने वातावरण नबनाउन उहाँको आग्रह छ । घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका लुगा लगाउन, बाल्टी, बाटा, ड्रमलगायत भाँडोमा लामो समयसम्म पानी जम्मा गरेर नराख्न उहाँको सुझाव छ ।

यसैबीच, ज्वरो आउनासाथ र जिउ दुख्नासाथ धेरैले जथाभाबी औषधि खाने गरेकाले त्यसो नगर्न पनि किटजन्य रोग निवारण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालको आग्रह छ । डेङ्गी भएका बेला दुखाइ कम गर्नका लागि खाइने बुफ्रिनलगायतका औषधिले स्वास्थ्यमा झनै असर पर्ने भएकाले स्वास्थ्यकर्मी र डाक्टरको सल्लाहमा मात्रै औषधि खान उहाँको सुझाव छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया