सहुलियत पसलमा चिनी किन्न लाइन, मुख्य बजारमा व्यापार नै छैन

 असोज २७, २०८० शनिबार ११:५१:२८ | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ अनामनगरका दिनेश श्रेष्ठ थापाथलीको खाद्य संस्थानको सुपथ मूल्य पसलमा लाइन लागेर बसिरहनु भएको छ । बिहीवार दिउँसो झण्डै १२ बजे सुपथ मूल्य पसलमा पुगेका उहाँको टोकन नम्बर ३ सय ३५ हो । दिउँसो दुई बजेसम्म झण्डै दुई सय नम्बरसम्मको पालो आयो । उहाँ आफ्नो पालो कहिले आउने हो भन्दै यताउति गरिरहनु भएको छ । 

उहाँ भन्नुहुन्छ, ‘दाल, चामल, तेल त बाहिर पनि पाइन्थ्यो । अहिले बाहिर चिनी नपाइने भएर आएको तर, यहाँको ताल यो छ । दुई घण्टा भइसक्यो पालो आएको होइन । अझै दुई घण्टा लाग्ला जस्तो छ । लाइन बस्नु कि छोडेर जानु जस्तो भइसक्यो ।’

अघिल्लो हप्ता आइतवारदेखि सरकारले चाडपर्व लक्षित सुपथ मूल्य सञ्चालन गरेको हो । सुपथ मूल्य पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन, दुग्ध विकास संस्थान अन्तर्गतका सरसामान राखिएका छन् । यसअघिका दशैँमा पनि सुपथ मूल्य पसलमा भिड हुन्थ्यो । यसपटक भने चिनीका कारण पसलमा बढी भिडभाड छ । पसलमा अहिले एक जनालाई दुई किलोसम्म चिनी दिने गरिएको छ ।

श्रेष्ठ भन्नुहुन्छ, ‘दुई/चार पैसा महँगो सस्तो त बाहिरको पसलमा हुने छँदैछ । तर, अहिले बाहिर चिनी भने ठ्याम्मै पाइँदैन । यसकारण पनि यहाँ भिड बढेको हो । अब दुई/चार दिनमात्र होला त्यसपछि त यहाँ पनि यही दुई किलो चिनी पनि पाइँदैन होला ।’

अहिले सुपथ मूल्य पसलमा साल्ट ट्रेडिङले चिनी किलोको ९७ रुपैयाँमा दिएको छ । तर, बाहिर एक त चिनी पाइँदैन । अर्को भनेको चिनीको भाउको कुनै ठेगान छैन । एक किलो चिनीको बाहिर पसलमा एक सय ३० देखि एक सय ५० रुपैयाँसम्म पर्छ । यसकारण पनि ग्राहकको भिड सुपथ मूल्य पसलमा लाग्ने गरेको छ । यसैगरी नुनमा दुई रुपैयाँ र तेल तथा चिउरामा सात रुपैयाँ छुट पाइन्छ ।

श्रेष्ठ भन्नुहुन्छ, ‘यसपटक मान्छेसँग उसै त पैसा छैन । सबै दशैँ मनाउनै गाह्रो भयो भनेको सुनिन्छ । तर, अलिअलि भएको पैसा लिएर आयो त्यही पनि सामान किन्न पाइन्न । यस्तो छ अवस्था ।’

राष्ट्र बैंकले अर्थतन्त्रका सबै सूचक ठीक छन्,, बैंकमा पैसा छ भने पनि बजार भने जुन हिसाबले दशैँको मुखमा चलायमान हुनुपर्ने हो त्यस्तो देखिँदैन । 

झण्डै दुई दशकदेखि लुगाजुत्ताको व्यापार गर्दै आउनु भएका कृष्ण रिजाल पनि यो कुरा स्वीकार गर्नुहुन्छ । आरबी कम्प्लेक्समा पसल गर्दै आउनु भएका रिजालका अनुसार यस पटक धेरै व्यापारी दशैँसम्म पर्ख र हेरको स्थितिमा रहेका छन् । तर, अहिलेको व्यापारको अवस्था हेर्दा बजारको अवस्था सुध्रिएला भन्ने उहाँलाई लागेको छैन । 

उहाँ भन्नुहुन्छ, ‘न्युरोडमा मान्छे छिरेको भिड हेर्यो भने दशैँ किनमेल गर्न आउनेकै भिड जस्तो लाग्छ । तर, जब बजारमा र पसलमा हेर्यो ग्राहक छैनन् । भएका पनि हेर्न आउने मात्र छन् किन्ने छैनन् । सस्तो र पाँचसयको पसलमा भने धेरै नै भिड छ । यसले पनि मान्छेसँग पैसा छैन भन्ने देखाउँछ ।’

चाडपर्वका बेला मान्छेसँग पैसा नभएको पीडा जताततै देख्न सकिन्छ । आमनागरिकलाई केही राहत होस् भनेर यसअघि दशैँमा एक महिना अगाडि गाडीको नै टिकट बुकिङको व्यवस्था गर्ने गरिन्थ्यो । तर, यस पटक भने घटस्थापनाको एकहप्ता अगाडि मात्रै अग्रिम टिकट बुकिङ खुलाइयो । यसले पनि गोङ्गबु बसपार्कमा भिडभाड अलि बढी नै थियो । त्यस्तै, एक हप्ता अगाडि मात्रै बुकिङ खोल्दा आमनागरिक टिकटका लागि बढी पैसा तिनुपर्ने बाध्यतमा परेको देखिन्छ ।

बझाङको थलारा गाउँपालिकाका दिपेन्द्र भण्डारी काठमाण्डैमा भने धुम्बाराहीमा बस्नुहुन्छ । उहाँ दशैँको लागि घर जानका लागि अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्क गोङ्गबुमा लाइन लागिरहनु भएको छ । उहाँ टिकट नपाइएला भनेर बिहान साढे पाँच बजे नै बसपार्कमा पुग्नु भएको हो । तर बिहान साढे पाँच बजे नै आए पनि उहाँले टिकट पाउन सक्नु भएन ।

‘हुनत यहाँ सधैँ यस्तै हो । पहुँच हुनेले मात्र टिकट पाउने हो । बझाङ जाने एउटा मात्र गाडी हो । अघि नै टिकट सकियो भन्छन् । बाजुरा, बझाङ, दार्चुला, अछाम, दैलेख जस्ता पहाडका गाडीको समस्या नै यही हो । गाडी कम छ,’ उहाँ भन्नुुहुन्छ, ‘त्यसमा पनि अग्रिम बुकिङका नाममा सधैँ यस्तै हुने गर्छ । पाँच गतेसम्मको बुकिङ भइसक्यो भनेपछि मैले लाइन बस्न छोडिदिएँ । पोहोर पनि यस्तै हो । सधैँ यस्तै हो । हामी गरिबलाई जताबाट पनि मर्का छ ।’

महँगीको यस्तै चपेटामा हुनुहुन्छ ललितपुर भैँसेपाटीका ज्ञानेन्द्रबहादुर पाण्डे । पेसाले चालक पाण्डेले गाडी चलाएको नै झण्डै २८ वर्ष भयो । तर, हरेक वर्ष दशैँ मान्न गाह्रो भइरहेको र हरेक पटक महँगीले सीमित कमाइले गाह्रो परिरहेको उहाँको अनुभव छ । 

उहाँ भन्नुहुन्छ, ‘काम छैन केही छैन । बाटोघाटो अरु निर्माणको काम भएको छैन । ती काम नभइ अरु सबै काम चल्दैन । यस्तै हो यहाँ त पुर्याउनै गाह्रो छ । जेनतेन पुर्याइएको छ । पुर्याउनु परेको छ ।’

आजभन्दा दश वर्ष अगाडि आठ/दश हजार रुपैयाँले पनि राम्रै पुग्ने गरेकोमो अहिले महँगीका कारण ३०/३५ हजार रुपैयाँ कमाउँदा पनि त्यसले खानलाउनै गाह्रो परेको उहाँको अनुभव छ । उहाँ भन्नुहुन्छ, ‘पहिले आठ/दश हजारले खाएर, लाएर पनि केही बच्थ्यो । अहिले त ३०/३५ हजारले पनि खानै मुश्किल छ । बचाउने भन्ने त परै जाओस् ।

उहाँ भन्नुहुन्छ, ‘यसपालिको दशैँ राम्रो हुने लक्षण देखिँदैन । खल्लै हुन्छ जस्तो लाग्या छ । महँगी छ । पैसा नै भए पनि भनेको चिज पनि पाइँदैन । दशैँ कसरी मनाउने हो थाहा छैन ।’

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया