अग्रिम भने पनि टिकट छैन, भिड छ नयाँ बसपार्कमा

 असोज २९, २०८० सोमबार १०:१३:३६ | वैद्यनाथ पाैडेल
unn.prixa.net

बाँके कोहलपुरका दीपक पराजुली घर फर्कनका लागि काठमाण्डौको नयाँ बसपार्कमा झोला, गुन्टा कसेर बसिरहनु भएको छ । उहाँ काम विशेषले एकहप्ता अगाडि काठमाण्डौ आउनु भएको थियो । सरकारी कर्मचारी उहाँलगायत २०/२२ जनाको समूह नै काम विशेषले काठमाण्डौ आउनु भएको हो । काम सकाएर घर फर्कनका लागि उहाँ नयाँबसपार्कमा गाडी कुरिरहनु भएको छ । तर, उहाँले कुर्नुभएको गाडी भने बाँके, कोहलपुर नियमित चल्ने गाडी नभएर उहाँको समूहले रिजर्भ गरेको गाडी हो ।

नयाँ बसपार्कमा दशैँका लागि अग्रिम टिकट बुकिङको व्यवस्था भने उहाँहरुले गर्नुभएन । अग्रिम टिकट खुले पनि यसपटक टिकट नपाइएको भन्ने उहाँहरुले सुनेपछि उहाँलगायतको समूहले टिकट नकाटी गाडी रिजर्भ गरेरै जाने आउने निर्णय गर्यो ।

‘यसपटक पहिले नै टिकट छैन भन्ने सुनियो । धेरै जना आइएको थियो । त्यसैले टिमले नै बस बुकिङ गरेका छौँ । २०/२२ जनाको टिम छ । बस नै बुकिङ गरेका छौँ । यसकारण टिकट लिइएन । टिकट नलिएपछि समस्याको कुरो भएन,’ उहाँ भन्नुहुन्छ, ‘अग्रिम टिकट प्याक छ भन्ने पहिले नै सुनियो । त्यसकारण बसपार्कको टिकट काटिएन । कर्मचारीको एउटा टिम नै छ । बस रिजर्भ गरेका छौँ । अब त्यसमै जाने हो ।’

यसअघिका दशैँमा नयाँ बसपार्कमा एक महिना अगावै अग्रिम टिकट बुकिङको व्यवस्था हुन्थ्यो । यसपटक भने घटस्थापना आउनु एकहप्ता अघि मात्रै अग्रिम टिकट बुकिङ खुलाइयो । बाढीपहिरोका कारण बाटो बिग्रिएकोले मर्मतपछि मात्रै अग्रिम टिकट बुकिङ खुलाउने कुरा भएकोमा सरकारले मुख्य राजमार्गलगायत सहायक मार्गको पनि ममर्त नगरेपछि अग्रिम टिकट बुकिङमा ढिलाइ भएको व्यवसायीको भनाइ छ ।

यसअघि एक महिना अगावै दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउँदा पनि टिकट नपाएको यात्रुहरुको गुनासो हुन्थ्यो । यसपटक एकहप्ता अगाडि मात्रै अग्रिम टिकटको बुकिङ खुल्दा यात्रुहरु मर्कामा परेका छन् । धेरैले टिकट पाएका छैनन् । बसपार्क आएर टिकट पाइन्छ कि भनेर कुर्नेहरु धेरै देखिन्छन् ।

त्यस्तै मध्येका एक हुनुहुन्छ कैलालीको चुरे गाउँपालिका – २ का योगेश साउद । काठमाण्डौको कीर्तिपुरमा बसेर अध्ययन गर्ने साउद दशैँमा घर जानका लागि भनेर नयाँ बसपार्कमा आएर अग्रिम टिकटको लागि लाइन बस्नुभयो । तर, टिकट भने पाउन सक्नुभएन । उहाँलाई आज टिकट छैन जुन दिन जाने हो त्यही दिन बिहान आउनुस् भन्ने जवाफ काउण्टरका मान्छेले दिए । 

‘आज अग्रिम बुकिङ पाइन्छ भने टिकट लिनुपर्छ भन्ने हिसाबमा आएको हो । हामीले अग्रिम टिकट चाहिँ पाएनौँ । अब जुन दिन जाने हो त्यही दिन आउनु पाउँछ भन्नुभयो,’ उहाँ भन्नुहुन्छ, ‘त्यो कत्तिको साँचो हो त्यो चाहिँ थाहा भएन । ठिकै छ अहिले नपाए पनि त्यही दिन पाइन्छ भनेर अहिले हामी बसिरहेका छौँ । पायो भने आजै पनि टिकट काट्ने भनेर बसिरहेको हो ।’

उहाँ भन्नुहुन्छ, ‘अग्रिम टिकट पाइयो भने ३० गते वा १ गतेको लागि भनेर टिकट काट्न आएको हो । भेटिएन । अब हेरौँ त्यो बेलाको अवस्था कस्तो हुन्छ ।’

साउदको जस्तै अवस्था छ कैलाली टीकापुर नगरपालिकाकी कविता चौधरीको पनि । उहाँ दशैँमा घर जानका लागि भनेर नयाँ बसपार्कमा आएर बसिरहनु भएको छ । उहाँ टिकट काट्नका लागि काउण्टरमा पनि जानु भएको थियो । भिड पनि अत्यधिक थियो । काउण्टरमा पुग्दा उहाँलाई टिकट छैन भनियो । त्यसकारण अरु केही उपायले टिकट काट्न सकिन्छ कि भनेर उहाँ चिनेको साथीलाई फोन गर्दै हुनुहुन्छ । उहाँको साथी बसपार्कमा काम गर्ने कारणले टिकट मिल्छ कि भनेर उहाँले फोन गर्दै हुनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘काउण्टरमा टिकट काट्न गएको थिएँ । आजको छैन । भोलि आउनु भनेको छ । टिकट भोलि बिहान ४ बजे मात्र खुल्छ भनेको छ । भोलि बिहान आउनु भनेको छ ।’ काउण्टरमा टिकट नपाएपछि अरु बाहिरका बिचौलियाहरुले उहाँलाई टिकट मिलाइदिन्छु पनि भनेका छन् । तर, बाहिरको टिकट भने काउण्टरको भन्दा महँगो छ । 

उहाँ भन्नुहुन्छ, ‘अग्रिम टिकट भनेपछि त खुल्नुपर्ने हो । तर, अहिले छैन भोलि बिहान आउनुस् भन्नुभयो । भोलि बिहान आउनुस् भन्नुभयो । अरु के कारणले हो चाहिँ मलाई थाहा भएन ।’

विराटनगरको कटहरी गाउँपालिकाका दीपककुमार राजवंशी भने टिकट पाउने सन्दर्भमा आफूलाई अलि भाग्यमानी ठान्नुहुन्छ । उहाँ विराटनगरबाट काठमाण्डौ आउनु भएको एकहप्ता भयो । अहिले विराटनगरको फर्कनका लागि टिकट पाइन्छ कि भनेर बसपार्कमा बसिरहनु भएको छ । उहाँले टिकट त पाउनुभयो । तर, क्याबिनको । 

उहाँ भन्नुहुन्छ, ‘काट्न त काउण्टरमा नै गएर काटेको हो । तर, पछाडिको राम्रो सिटको पाइएन । क्याबिनको पाइयो । ए/बी सबै सिट खोजेको हो । छैन भन्यो । शायद त्यही बाँकी थियो र त्यसैको दियो होला ।’

उहाँ एक हप्ता अगाडि काठमाण्डौ आउँदा १४ सय रुपैयाँमा टिकट काटेर आउनु भएको हो । तर, अहिले फर्कँदा भने उहाँले १८ सय ५० रुपैयाँ तिर्नुपर्यो । ‘शायद दशैँ भएर महँगो भएको हो कि । अरु बाहिरका मान्छेले पनि टिकटका लागि बोलाइरहेका थिए । तर, काउण्टरमै गएँ । दशैँको समयमा धन्न यही भए पनि पाइयो,’ उहाँ भन्नुहुन्छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया