हराएका युवा दुई हप्तापछि पारिवारिक सम्पर्कमा

 कात्तिक ७, २०८० मंगलबार १३:३४:४० | अमर सुनार
unn.prixa.net

दैलेख – भारतको सिम्लाबाट दशैँ मान्न हिँडेका युवा यात्राको क्रममा हराएको दुई हप्तापछि घर पुगेका छन् । भगवतीमाई गाउँपालिका–४ मनघरका ४१ वर्षीय धनबहादुर थापा बाटोमै लुटिएपछि बाटो खर्च कमाएर सोमवार परिवारको सम्पर्कमा पुग्नुभएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ इत्राममा बस्ने भाउजु कृष्णाले सोमवार दिउँसो ४ बजेतिर देवर धनबहादुरलाई आफ्नो दैलोमा देखेपछि उहाँलाई देवर नै हो कि होइन भनेर पनि ठम्याउनै गाह्रो भयो । ‘खबरै नगरी एकैपटक दैलोमा देखेपछि अक्क न बक्क भएँ’ कृष्णाले भन्नुभयो ।

असोज २३ गते सिम्लाबाट हिँडेकै दिन चण्डीगढ बसपार्कमा पुगेपछि त्यहाँका गुण्डाहरुले नाम थाहा नभएका दुल्लू क्षेत्रका दुई जना र आफूसँग भएको सम्पूर्ण नगद, कपडा, झोलासमेत लुटेर एक–अर्कोलाई ४–५ मिनेट अन्तरमा छोडेको कारण लुटिएका अरु साथीहरुसँग भेट हुन पाएन धनबहादुरले उज्यालोलाई बताउनुभयो ।

कमाएको रकम बैँकबाट पठाएको कारण आफूसँग भएको पाँच हजार भारु नगद लुटेको तर दुल्लूका साथीहरुबाट भने झण्डै लाख रुपैयाँ भन्दा बढी लुटिएको उहाँले बताउनुभयो । लुटिएको दुई दिन काम समेत नपाएर भोकै बसेको र तेस्रो दिनदेखि सात दिन भैँसी गोठालो गरेर १८ सय भारु कमाएर नेपाल पुगेको धनबहादुरले बताउनुभयो ।

फोन डायरी, कागजपत्र केही नभएकोले खबरै नगरी पारिवारिक सम्पर्कमा पुगेको उहाँले बताउनुभयो । ‘मलाई परिवारको चिन्ता थियो, परिवारजन पनि म हराएको कुराले रोइरहेका होलान् भनेर दशैँका टीका भेटाउने गरी आएँ’ खुशीको आँसु चुहाउँदै उहाँले बताउनुभयो ।

दुई–चार दिनपछि सँगै जाउँला भनेका दाजु रामबहादुर थापासँग जिद्दी गरेर सिम्लाबाट हिँडेको आफू घर नपुग्दा परिवारजन चिन्तामा होलान् भन्ने आफूलाई लागिरहेको धनबहादुरले बताउनुभयो । सिम्लाबाट हिँडेका तर घर नपुगेपछि परिवारजनले १० दिनदेखि हरिद्वारदेखि सिम्लासम्म ठाउँठाउँ खोजी गरेका थिए ।

दाजुको घर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भएकोले सोमवार भाउजु, भतिजा, भतिजीसँग भेटेपछि उहाँ टीका लगाउन बेस्तडा जानुभयो । उहाँको श्रीमती दुई छोरा, एक छोरीसमेत भगवतीमाई गाउँपालिका–४ मनघरबाट मंगलवार दैलेख घरमा पुगेर दशैँको टीका लगाउने योजनाले सुर्खेतबाट बेस्तडाका लागि प्रस्थान गरिसक्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया