रामेछाप विमानस्थलमा तारा एअरका दुई पाइलटबीच कुटाकुट

 कात्तिक १७, २०८० शुक्रबार ११:३६:४५ | दीपक भट्ट
unn.prixa.net

रामेछाप - रामेछापको मन्थली विमानस्थलमा तारा एअरका दुई पाइलटबीच शुक्रवार आज बिहान कुटाकुट भएको छ । तारा एअरका वरिष्ठ क्याप्टेन सन्तोष शाह र अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच विमानस्थलमा नै कुटाकुट भएको हो ।

क्याप्टेन सन्तोष शाहले आज बिहान ८ बजे सोलुखुम्बुकाे लुक्लाबाट जहाज लिएर मन्थली विमानस्थलमा अवतरण गर्नुभएकाे थियाे भने अर्का क्याप्टेन सञ्जीव श्रेष्ठ लुक्ला उडानको लागि विमानस्थलमा रहेको जहाजतर्फ जाँदै हुनुहुन्थ्याे । 

लुक्लाबाट मन्थली आएका क्याप्टेन शाह जहाजबाट ओर्लिएर बाहिर निस्केर हिँड्दै गर्दा जहाज भएको ठाउँतर्फ अर्का क्याप्टेन श्रेष्ठ हुनुहुन्थ्याे । भेटमा क्याप्टेन शाहले क्याप्टेन श्रेष्ठसँग हात मिलाउन खोज्दा श्रेष्ठले एक चड्कन गालामा हानेर धकेलिदिएपछि क्याप्टेन शाह भुइँमा बजारिन पुग्दा सामान्य घाइते हुनुभएकाे थियाे । 

घटनापछि क्याप्टेन श्रेष्ठ जहाज लिएर लुक्लातर्फ उड्नु भएकाे छ भने कानुनी उपचारका लागि शाह निवेदन लिएर जिल्ला प्रहरी कार्यालय पुग्नुभएकाे थियाे । क्याप्टेन शाहले आफूलाई विना कारण क्याप्टेन श्रेष्ठले हात हालेको भन्दै आवश्यक कारबाहीको लागि निवेदनसहित कार्यालयमा आउनुभएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिनुभयाे। उहाँले घटनाबारे थप अनुसन्धान र सोधपुछ गरिरहेको बताउनु भयाे ।  

दुई पाइलटबीच के कारणले कुटाकुट भएको भन्नेबारे आफूलाई केही जानकारी नभएको नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख अशोक थापाले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे 'घटनापछि क्याप्टेन शाह भएको विमान मन्थली विमानस्थलमा ग्राउण्डेड गरिएको छ भने लुक्ला पुगेका श्रेष्ठलाई पनि लुक्ला एअरपाेर्टमै ग्राउण्डेड गरिएको छ ।'

जहाजका दुई क्याप्टेनबीच भएको कुटाकुटको विषयमा कम्पनीबाट अनुसन्धान भइरहेको र दुवै जना पाइलटकाे इजाजत पत्र खारेज गर्ने तयारी भइरहेको तारा एअरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिनुभयाे ।

'दुईजना बीच भएको घटना जहाज उडान सम्बन्धी नभइ व्यक्तिगत रिसिइबीको कारणले भएको देखिन्छ । यसबारेमा थप जानकारी लिने काम भइरहेको छ' बर्तौलाले भन्नुभयाे ।   

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया