लिम्बुनी पुल : ३ वर्षमा बन्नुपर्ने, ६ वर्षमा एउटा पिलर बन्याे

 मंसिर ३, २०८० आइतबार १९:३६:२० | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – निर्माण कम्पनीकाे लापर्बाहीका कारण पूर्वी नेपालको गौरव तथा आर्थिक समृद्धिसँग जोडिएको लिम्बुनी पुल निर्माणको काम अलपत्र परेको छ । विराटनगरको रानी र ताप्लेजुङको टिप्ताला जोड्ने नेपालकै छोटो उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्गमा पर्ने तमोर नदीमाथिको लिम्बुनी पुल निर्माणकाे काम अलपत्र परेकाे हाे ।

एक सय दुई मिटर लम्बाइको पुल निर्माणका लागि २०७४ फागुन ६ गते २२ करोड पाँच लाख ७७ हजार ८ सय ९० रुपैयाँमा सम्झौता भएको थियो । एम/एस.सपना.याक्थुङ जेभी काठमाण्डौले पुलको निर्माण २०७७ असार मसान्तसम्ममा सक्ने गरी सम्झौता गरेकोमा छ वर्षमा एउटा पिलर बनाउने बाहेकको काम भएको छैन ।

तमोर करिडोरअन्तर्गत सुनसरीको चतरादेखि ताप्लेजुङको ओलाङचुङगोला पुग्ने सडकको तीन सय मिटर ट्र्याक खोल्न बाँकी छ । तर लिम्बुनी पुल चाँडो नबन्ने हो भने यो सडकको कुनै महत्त्व नहुने स्थानीयवासी बताउँछन् ।

यसैबीच आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमू दीपेनको नेतृत्वमा जनप्रतिनिधि र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरूको टोलीले पुल निर्माणको प्रगति अवलोकन गरेको छ । ‘प्रगति देखिएको छैन, लामो समयदेखि काम गरेको छैन’, आठराईका अध्यक्ष पोमूले भन्नुभयो । पुल निर्माणका लागि ठेकेदार कम्पनीलाई पटक–पटक ताकेता गर्दा पनि वास्ता नगरेकोले अब जिल्लावासी तथा विभिन्न क्षेत्रबाट दबाब सिर्जना गर्नुपर्ने अवश्यकता रहेको उहाँले बताउनुभयो ।

यो पुल नबने पूर्वी नेपालका जिल्लाको समृद्धिमा असर पुग्ने अध्यक्ष पोमू बताउनुहुन्छ । निर्माण कम्पनीलाई काममा फर्काउन पाँचथरको हिलिहाङ गाउँपालिकासहित ताप्लेजुङ र तेह्रथुमका जनप्रतिनिधिलगायत सङ्घीय तथा प्रदेश सांसदकाे संलग्नतामा संयुक्त पहल शुरु गर्ने उहाँकाे भनाइ छ । प्रमुख जिल्ला अधिकारी पौडेलले निर्माण कम्पनी जिम्मेवारीबाट पन्छिन नहुने बताउनुभयो ।

वारिपट्टि पाँचथरको आङ्बुहाङ, पारिपट्टि ताप्लेजुङको निघुरादिन हुँदै तेह्रथमुको ह्वाकुतर्फ प्रवेश गर्ने स्थल यहीँ हो । पक्की पुल नहुँदा अहिले नजिकैकाे झोलुङ्गे पुलबाट मोटरसाइकल तार्नुपर्ने अवस्था छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया