दाङमा ५ लाख २१ हजारसहित ५१ जुवाडे पक्राउ

 कात्तिक २५, २०७५ आइतबार ८:१६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङ प्रहरीले तिहारको समयमा ५१ जना जुवाडेसहित ५ लाख २१ हजार ५ सय ७२ रुपैयाँ बरामद गरेको छ । कार्तिक २१, २२ र २३ गते लगातार जिल्लाका ४ ठाउँमा छापा मार्दा ५१ जुवाडेका साथबाट ५ लाखबढी रुपैयाँसहित जुवा खेल्न प्रयोग भएका कौडा र तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यसैक्रममा शनिबार दंगिशरण गाउँपालिका २ सरुवा डाँडाँबाट जुवा खेलिरहेका २४ जनालाई १ लाख ९ हजार ४ सय ६० रुपैयाँ र ४८ थान कौडासहित पक्राउ गरिएको दाङका निमित्त प्रहरी प्रमुख डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिनुभएको छ ।

त्यसैगरी शनिबार नै तुलसीपुर उपमहानगरपालिका १२ टरीगाउँबाट जुवा खेलिरहेका १५ जनालाई ८७ हजार ३ सय रुपैयाँ र दुई गड्डी तास बरामद गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

यस अघि २१ गते दाङ प्रहरीले गढवा गाउँपालिका ६ परिचोकमा जुवा खेलिरहेका ७ जनालाई १ लाख ७५ हजार ७ सय २० रुपैयाँसहित पक्राउ गरेको थियो । यही दिन राप्ती बबई गाउँपालिका ४ हापुरेबाट जुवा खेल्ने ५ जनालाई ६० हजार ९२ रुपैयाँ र १६ थान कौडा बरामद भएको पनि निमित्त प्रहरी प्रमुख घर्तीमगरले जानकारी दिनुभयो ।

पक्राउ परेका सबैलाई जुवा ऐनसम्बन्धी मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ । तिहार बिदा र शनिबार परेका कारण उनीहरुलाई कार्यालय खुलेपछि जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी कार्वाही गरिने निमित्त प्रहरी प्रमुख घर्ती मगरले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया