राष्ट्रिय सभाको चुनाव आज, बेलुकासम्म नतिजा आइसक्ने

 माघ ११, २०८० बिहिबार ६:४८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आउँदो फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १९ सदस्यका लागि आज चुनाव हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बाग्मती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा दुई/दुई वटा मतदान केन्द्र स्थापना गरिएको छ । प्रदेशसभा सदस्यका लागि एउटा तथा पालिका प्रमुख र उपप्रमुखका लागि एउटा गरी हरेक प्रदेशमा दुई/दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको हो ।

प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा चुनाव चिह्न रहेको मतपत्र र पालिका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा चुनाव चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार सातै प्रदेशबाट ५ सय ४९ प्रदेशसभा सदस्य र १४ सय ९८ पालिका प्रमुख उपप्रमुखले राष्ट्रियसभा चुनावमा मतदान गर्नेछन् ।

राष्ट्रियसभा सदस्यका लागि सातै प्रदेशबाट ५१ जना चुनावी मैदानमा छन् । बाग्मतीबाट ४, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट ३/३ तथा कोशी, मधेस र लुम्बिनी प्रदेशबाट २/२ सदस्य निर्वाचित हुनेछन् । सत्ता गठबन्धनबाट कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले साझा उम्मेदवार अघि सारेर गठबन्धन गरेका छन् ।

कोशीमा एमालेले राप्रपासँग गठबन्धन गरेको छ । अरु प्रदेशमा भने एमाले एक्लै प्रतिस्पर्धामा छ । आजै बेलुकीसम्म मतपरिणाम घोषणा भैसक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन सम्बन्धित सबैमा आग्रह गरेको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया