कांग्रेसले नागरिकका कुरा सुन्न अभियान सञ्चालन गर्दै, आसन ग्रहण र भाषण नगर्ने

 माघ १२, २०८० शुक्रबार १८:२०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसले छ हजार सात सय ४३ वटै वडासम्म पुगेर नागरिकका कुरा सुन्न ‘समुदायमा कांग्रेस अभियान’ सञ्चालन गर्ने भएको छ ।

माघ १६ अर्थात् शहीद दिवसदेखि पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्मृति दिवस अर्थात् माघ २६ गतेसम्म सञ्चालन हुने अभियानका लागि कांग्रेसका पदाधिकारी सात प्रदेशमा खटिएका छन् । सदस्यहरूलाई ७७ जिल्लामा प्रतिनिधि तोकिएको छ ।

यस पटक केन्द्रीय कार्यालयले नेताहरूलाई भाषण गर्न भने रोक लगाएको छ । यो समुदायसँग अन्तरसंवाद गर्ने, गुनासा सुन्ने र सुझाव सङ्कलन गर्ने अभियान भएकाले औपचारिक कार्यक्रम, आसन ग्रहण र नेताले भाषण गर्ने कार्यक्रम नगर्न भनिएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।

जिल्ला खटिएका प्रतिनिधिले जिल्लामा पुगेर भोलि र पर्सि जिल्ला कार्यसमितिको विस्तारित बैठक गर्ने कार्यसूची छ । अभियानका क्रममा तीनै तहका सरकारसँगका नागरिकका अपेक्षा, सुझाव र गुनासा सङ्कलन गरिने प्रचार विभाग प्रमुख विश्वकर्माले बताउनुभयो । अभियानका क्रममा वृक्षरोपण, सम्पदा सरसफाइ, नदीनाला सरसफाइ, शिक्षा शिविर, स्वास्थ्य शिविर, रक्तदान, श्रमदान वा स्वास्थ्यसँग सम्बन्धित कुनै न कुनै कार्यक्रम तय गरी कार्यक्रम गर्न कांग्रेसको परिपत्र छ ।

यसैबीच समुदायमा कांग्रेस अभियान चलिरहेकै बेला कांग्रेस महामन्त्री गगन थापाले मेची–महाकाली संवाद यात्रा गर्नुहुने भएको छ । नागरिकका गुनासा र सुझाव सुन्न तथा पार्टीका कार्यकर्तासँग साक्षात्कार गर्न महामन्त्री थापाले पूर्वमा मेचीदेखि पश्चिमको महाकालीसम्म यात्रा गर्न लाग्नुभएको हो । औपचारिक कार्यक्रम नगरिकनै हुलाकी राजमार्ग वरपर भएर यात्रा गर्न गर्ने थापाको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया