विदेशमा बेचेर, रुख काटेर बाँदरबाट हुने क्षति कम हुँदैन : संरक्षणविद्

 माघ १६, २०८० मंगलबार १८:८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – संरक्षणविद्हरूले बाँदरको निकासी गर्न नहुने बताएका छन् । राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा संरक्षणविद्हरूले बाँदर नेपालको संस्कृतिसँग पनि सम्बन्धित भएको भन्दै नेपाली संस्कृति मास्ने गरी निकासी गर्न नहुने बताएका हुन् ।

बैठकमा संरक्षणविद् तथा नेपाल सरकारका पूर्वसचिव डा. उदयराज शर्माले निकासी गरेर बाँदरबाट हुने क्षती कम नहुने बताउनुभयो । उहाँले बाँदरले अत्यधिक दुःख दिएको अवस्थामा सरकारले निर्णय गरेर मार्न भने सकिने बताउनुभयो । मानव र वन्यजन्तुका बीचमा द्वन्द्व बढ्दै गएको अवस्थामा अधिक वन्यजन्तुप्रेमी हुनु पनि आवश्यक नभएको शर्माले बताउनुभयो ।

यस्तै बैठकमा लेखक अश्विनकुमार पुडासैनीले पोखरा महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्षले ‘मेरो रुख म काट्छु’ अभियानको नाममा आफ्नो घर वरपरको रुख काट्न निर्देशन जारी गरेको प्रसङ्ग निकाल्दै रुख काट्नु समाधानको बाटो नभएको बताउनुभयो । समस्या समाधानका लागि बस्तीलाई व्यवस्थित र प्रकृतिमैत्री बनाउनुपर्नेमा उहाँको जोड छ ।

पोखरा महानगरपालिका–१९ का वडाध्यक्षले बाँदर नियन्त्रणका लागि रुख काट्न भन्दै सूचना निकालेपछि रुख काट्नेबारे चर्चा भइरहेको छ । यसअघि नै स्याङ्जाको वालिङ नगरपालिकाले रुख काट्ने अभियान चलाइरहेको छ । तर बाँदरबारे अध्ययन गर्नुभएका पशुपति अधिकारी बाँदर सहर बजारमा पनि बस्ने भएकाले रुख काटेर बाँदर नियन्त्रण नभई उसले थप क्षति गर्ने जोखिम हुने बताउनुहुन्छ ।

यसैबीच पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले अर्को सूचना निकालेर बाँदर नियन्त्रणका लागि रुख काट्ने सूचना रद्द गरेको जानकारी गराउनुभएको छ । उहाँले हिजो एक सूचना निकालेर घरवरपरका रुख १० दिनभित्र आफैँ काट्न वडावासीका नाममा सूचना जारी गर्नुभएको थियो । सूचनाको चौतर्फी विरोध भएपछि पोखरा महानगरपालिकाले वडालाई पत्र लेखेर सूचना रद्द गर्न अनुरोध गरेको थियो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया