थोक तथा खुद्रा व्यापार गर्ने ३२ प्रतिशत प्रतिष्ठान दर्ताविनै सञ्चालनमा

 माघ २६, २०८० शुक्रबार १५:५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – थोक तथा खुद्रा व्यापार गर्ने व्यापारिक प्रतिष्ठानमध्ये झन्डै ३२ प्रतिशत दर्ताविनै सञ्चालन भइरहेका तथ्याङ्क सार्वजनिक भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको ‘नेपाल व्यापार सर्वेक्षण २०७८’ अनुसार देशभित्र रहेका थोक तथा खुद्रा व्यापार गर्ने चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये झन्डै ३२ प्रतिशत दर्ताविनै सञ्चालनमा रहेका हुन् । सर्वेक्षणअनुसार सबैभन्दा बढी मधेस प्रदेशमा सञ्चालित ४८ प्रतिशत व्यापारिक प्रतिष्ठान दर्ताविनै सञ्चालन भइरहेको देखिएको छ । त्यस्तै कोशी प्रदेशका ३८ दशमलव पाँच, कर्णालीका ३३ दशमलव आठ, सुदूरपश्चिमका २८ दशमलव आठ, लुम्बिनीका २६ दशमलव नौ, गण्डकीका २५ दशमलव एक र बाग्मतीका २४ दशमलव सात प्रतिशत व्यापारिक प्रतिष्ठान दर्ताविनै सञ्चालन भइरहेका छन् ।

६८ प्रतिशत व्यापारिक प्रतिष्ठान भने कुनै न कुनै प्रकारको सरकारी निकायमा दर्ता भएको सर्वेक्षणमा उल्लेख छ । दर्ता भएर सञ्चालनमा रहेका व्यापारिक प्रतिष्ठानहरूमध्ये महिलाको स्वामित्वमा २६ प्रतिशत र पुरुषको स्वामित्वमा ७४ प्रतिशत रहेको पनि सर्वेक्षणले देखाएको छ ।

थोक तथा खुद्रा व्यापारमा ११ लाख ३० हजार छ सय ४५ जना संलग्न छन् । तीमध्ये ३६ प्रतिशत अर्थात् चार लाख तीन हजार नाै सय ६४ महिला छन् । थोक तथा खुद्रा व्यापारमा संलग्न कामदारमध्ये तलब वा ज्याला पाउनेको सङ्ख्या दुई लाख १९ हजार ५७ सय ५१ छ । सर्वेक्षणअनुसार तलब, ज्याला र अन्य सुविधा लिई काम गर्नेभन्दा नलिई गर्ने परिवारका सदस्यहरूको सङ्ख्या बढी छ ।

आन्तरिक व्यापारअन्तर्गत देशभित्र हुने वस्तुको थोक तथा खुद्रा व्यापार क्षेत्रको अवस्थाबारे अध्ययन गरी आधारभूत तथ्याङ्क उपलब्ध गर्न केन्द्रीय तथ्याङ्क विभागले गएको आर्थिक वर्ष सर्वेक्षण गरेको हो । १५ हजार दुई सय ९९ प्रतिष्ठानबाट प्राप्त तथ्याङ्कका आधारमा सम्पूर्ण व्यापारिक प्रतिष्ठानका लागि अनुमान गरिएको कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया