साना मात्र नभइ ठूला कसुरदारलाई पनि कानुनको दायरामा ल्याउन राष्ट्रपति पौडेलको सुझाव

 माघ २८, २०८० आइतबार १२:११:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले साना प्रकृतिका कसुरदारका मात्र नभइ ठूला प्रकृतिका कसुरदारको पहिचान गर्न र जतिसुकै ठूला व्यक्ति भए पनि उनीहरुलाई कानुनको दायरामा ल्याउन सुझाव दिनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३ औँ स्थापना दिवसको अवसरमा आज काठमाण्डौमा भएको कार्यक्रममा उहाँले आयोगले आफ्नो कार्यसम्पादन र भ्रष्टाचारका उपर अनुसन्धान र छानबिन गर्ने क्रममा आग्रह, पूर्वाग्रहरहित भएको सन्देश दिनुपर्ने बताउनु भयो ।

राष्ट्रपति पौडेलले महालेखा परीक्षकको प्रतिवेदनमा हरेक वर्ष बेरुजु बढ्दै जानु दुःखद् पक्ष भएको समेत बताउनुभयो । उहाँले हरेक वर्ष महालेखा परीक्षकको प्रतिवेदनमा किटानका साथ सरकारी ढुकुटी र बजेट कार्यक्रमको दुरुपयोग सम्बन्धी विषय प्रकाशित भएका र यस्ता विचलनलाई समयमा नै न्यूनीकरण गर्न राज्य संयन्त्र चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति पौडेलले भ्रष्टाचार नियन्त्रणका हकमा संस्थागत सुदृढीकरणका लागि संवैधानिक आयोगले राज्यका अन्य अंगहरुलाई बेलाबखत परामर्श तथा सुझाव दिइरहनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले ठूला भ्रष्टाचारका घटनालाई अनुसन्धानको दायरामा ल्याइरहेको बताउनुभएको छ । उहाँले विभिन्न कालखण्डमा भएका सबै साना–ठूला भ्रष्टाचारजन्य घटनाउपर स्वतन्त्र छानबिन र अनुसन्धान गर्ने सन्दर्भमा आयोगलाई नेपाल सरकारको पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

उहाँले सरकारी जग्गा हडप्ने, व्यक्तिगत नाममा कायम गर्नेहरूलाई छानबिन अनुसन्धान गरिरहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले क्रिप्टोकरेन्सी कारोबारी, हुन्डी कारोबारी, सुन तस्कर र सहकारीलगायतका क्षेत्रमा भएका ठगीलाई कारबाहीको दायरामा ल्याएको बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले सार्वजनिक सेवा प्रवाहमा देखिएका विकृति, विसङ्गति, ढिलाइ, अनियमितता नियन्त्रण गरी सार्वजनिक सेवा प्रवाहमा जनताले भोग्नुपरेको सास्ती हटाउन सरकार लागिरहेको दाबी गर्नुभयो ।

उहाँले भ्रष्टाचारलाई निर्मम तवरले अन्त्य नगरी देशको समग्र विकासको परिकल्पना गर्न नसकिने भन्दै सार्वजनिक निकायहरूमा पारदर्शिता र जन उत्तरदायित्वको संस्कार विकास गर्न ढिलाइ भइसकेको बताउनु भयो ।

उहाँले राज्यका सबै सार्वजनिक निकायहरूलाई बढी जिम्मेवार र जवाफदेही बनाउन नविन प्रविधिको विकास र उपयोग गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले भ्रष्टाचारका विरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने पनि दाबी गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया