बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण मिनाहा हुने भन्दै चलेका अभियान र हल्लाले ऋणी अन्योलमा

 फागुन ६, २०८० आइतबार ९:११:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ऋण तिर्नुपर्दैन, मिनाहा हुन्छ भन्दै चलेका हल्ला र अभियानले ऋणी अन्योलमा परेका छन् । देशकै अर्थतन्त्र मन्दीमा हुँदा अरु क्षेत्रसहित लघुवित्त संस्थाको कारोबारमा पनि समस्या देखिएको छ । केही व्यक्ति र समूहले ऋण तिर्नु पर्दैन भनेर चलाएको अभियानका कारण लघुवित्तको कर्जा असुलीमा समस्या र जोखिम बढेको छ । अहिले देशभर ५७ वटा लघुवित्त संस्थाहरु छन् ।

यस्तै, लघुवित्त संस्था सञ्चालन गर्ने ५० वटा सहकारी संस्थाहरु पनि छन् । यी लघुवित्तका ५ हजार ८२ शाखामा ५९ लाख ५१ हजार जना सदस्य छन् । यीमध्ये ९६ प्रतिशत हाराहारी सदस्य त महिला मात्रै छन् । झण्डै २९ लाख जना ऋणी रहेको लघुवित्त क्षेत्रको खराब कर्जा झण्डै साढे ६ प्रतिशत पुग्न थालेको छ ।

अहिलेसम्म लघुवित्त संस्थाहरुबाट ४ खर्ब ३४ अर्ब रुपैया ऋण प्रवाह भएकोमा झण्डै २७ अर्ब रुपैयाँ बेलैमा उठेको छैन। ऋण तिनुपर्दैन भनेर विभिन्न व्यक्ति र समूहले चलाएको अभियानका कारण पनि यस्तो समस्या आएको तर ऋण नतिर्ने अभियान चलाउनेका कुरा नपत्याउन लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवको आग्रह छ ।

गरिबी कम गर्न, स्थानीय स्तरमा लघुउद्यम र स्वरोजगार बनाउने तथा स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रमा जोड्न लघुवित्तकै ठूलो हात छ । धेरै विषय सकारात्मक हुँदाहुँदै पनि लघुवित्तमा समस्या देखिन थालेको छ।

ऋण बेलैमा तिर्न अनि अहिले भैरहेका अनेक आन्दोलनमा नलाग्न सरकारको आग्रह छ । ऋण नतिर्नु बैंकिङ अपराध भएको र त्यस्ता हल्ला र अभियान चलाउनेलाई कारबाही गर्ने अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले चेतावनी दिनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया