नारायणगढ–मुग्लिन सडक आजदेखि नियमित सञ्चालनमा : दिउँसो बन्द नहुने

 फागुन १३, २०८० आइतबार ७:६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – दैनिक चार घण्टा गाडी रोकेर काम हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि नियमित सञ्चालन हुने भएको छ । आजदेखि सडक दिउँसो पनि बन्द नहुने भएको हो । तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न शुरू भएपछि दैनिक दिउँसो चार घण्टा बन्द हुँदै आएको थियो । यसका लागि तेस्रो पटक थपेको म्याद हिजो शनिवार सकिएको छ ।

पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेको र अब यही कामका लागि भनेर गाडी रोक्नु नपर्ने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का प्रमुख केदार नेपालले बताउनुभयो । यो सडक दिउँसो १२ बजेदेखि ४ बजेसम्म बन्द हुँदै आएको थियो  ।

अब पुल निर्माण हुने ठाउँमा ढिस्को भत्काउने काम एक/दुई मिटर मात्रै बाँकी रहेको आयोजनाको पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का प्रमुख नेपालले बताउनुभयो । तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न गएको वर्ष र यसवर्ष पुसदेखि दैनिक सडक बन्द हुने गरेको थियो ।

६० मिटर अग्लो पहाडमध्ये गएको वर्ष २५ मिटर र यसवर्ष बाँकी काम गरिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम लगभग सकिएको र अब बाटो बन्द नगर्ने निर्णय भएको जानकारी दिनुभयो ।

तुइन खोलामा ६० मिटर लम्बाइको पुल बन्नेछ । यो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकै साथ ठेक्का लगाइएको थियो । तीमध्ये अहिलेसम्म ८ वटा पुल निर्माण भएर गाडी गुडिरहेका छन् । बाँकी ६ वटा पुलमा गाडी गुड्ने चरणमा पुगेको छ ।

कडा चट्टानका कारण तुइन खोलाको पुल निर्माणमा समस्या हुँदै आएको हो । सडक विस्तार गरेसँगै यो सडकखण्ड ९ देखि ११ मिटर फराकिलो बनेको छ । तराईलाई काठमाण्डौसँग जोड्ने मुख्य सडकमा दैनिक हजारौँको  सङ्ख्यामा गाडी गुड्ने गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया