रुसी सेनामा ५३१ जना नेपाली रहेको विवरण सार्वजनिक, २७२ जना सम्पर्कविहीन

 फागुन १३, २०८० आइतबार ७:१८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रुसी सेनामा रहेका नेपाली युवाका आफन्तले सञ्चालन गरेको पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानले रुसी सेनामा पाँच सय ३१ जना नेपाली रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । अभियानले हिजो काठमाण्डौमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्याङ्क अनुसार १६ जनाको ज्यान गएको छ । उनीहरुको काजक्रिया पनि भइसकेको छ ।

यस्तै एक सय १६ जना घाइते र दुई सय ७२ जना सम्पर्कविहीन रहेका अभियानको दाबी छ । अभियानकी संयोजक कृतु भण्डारीले सम्पर्कमा आएका पीडित परिवारका आधारमा तथ्याङ्क तयार पारेको बताउनुभयो । उहाँले रुसी सेनामा रहेका नेपाली युवाको उद्धारका लागि सरकारलाई दबाब दिन विवरण सङ्कलन थालेको बताउनुभयो ।

सम्पर्कमा आएका पाँच सय ३१ जनामध्ये एक सय २७ जनाका परिवारले घर फर्काउन पहलका लागि विवरण टिपाएका छन् । उनीहरू अहिले पनि रुसी सेनामा कार्यरत छन् । रुसी सेनामा रहेका एक हजारभन्दा बढी युवाका परिवार अनौपचारिक रुपमा आफ्नो सम्पर्कमा आएको भण्डारीले बताउनुभयो ।

यसैबीच रुसी सेनामा ज्यान गुमाएका युवाका परिवाजनले हिजो बेलुका पशुपतिनाथ परिसरमा रहेको भश्मेश्वरघाटमा दीप प्रज्वलन गरेका छन् । ज्यान गुमाएका युवाको आत्माको शान्तिका लागि दीप प्रज्वलन गरिएको परिवारजनले बताएका छन् ।

अभियानले रुसी सेनामा रहेकोहरुको सकुशल घर फिर्ताका लागि व्यवस्था गर्नुपर्नेलगायत विषय उल्लेख गर्दै काठमाण्डौमा रहेको रुसी दूतावास, संयुक्त राष्ट्रसङ्घको कार्यालय, विभिन्न राजनीतिक दलका कार्यलयमा ध्यानाकर्षण गराइसकेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया