फोहोर फाल्ने भीरमा शंखधर पार्क निर्माण गरिने

 कात्तिक २८, २०७५ बुधबार १३:१५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – मध्यपुर थिमि नगरपालिकाका बासिन्दाले फोहोर फाल्ने भीरमा आधुनिक प्रविधिसहितको परम्परागत पार्क निर्माण सुरु भएको छ । मध्यपुरथिमि नगरपालिकाले प्राचीन र परम्परागत शैलीमा राष्ट्रिय विभूति शंखधर साख्वाको नाममा शंखधर पार्क निर्माण कार्य सुरु गरेको हो । 

मध्यपुर थिमि नगरपालिकामा रहेको शंखधर चोक थिमिमा १३० रोपनी क्षेत्रफलमा आधुनिक प्रविधिको प्रयोग गरी प्राचीन शैलीको ढुङ्गेधारासहित अपाङ्गमैत्री पार्क निर्माण सुरु भएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

शंखधर चोकबाट बालकुमारीतर्फ जाने उकालो सडकको पश्चिमपट्टि साइडमा रहेको फोहोर फाल्ने भिरालो जमिनमा शंखधर पार्क निर्माण कार्य सुरु भएको हो । स्थानीय बासिन्दाले फोहोर फालेर फोहोरको थुप्रो लगाएको र तल सडकसम्मै आउने गरी ठूला–ठूला घाँसहरु उम्रिएको यो क्षेत्रलाई नगरपालिकाले सफा गरी पार्क निर्माणको थालनी गरेको छ । 

प्राचीन शैलीमा ढुङ्गे धारा निर्माण कार्य भैरहेको छ । यहाँ ढुङ्गाको पर्खाल लगाई त्यसमाथि फलामको बार लगाई पैदल हिँड्न फुटपाथ बनाउने, ह्वील चियर लान मिल्ने गरी अपाङ्ग मैत्री बनाउने, बस्न मिल्ने ठाउँहरु बनाउने, बगैंचाहरुको निर्माण गरिने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । 

पार्क निर्माण स्थलको माथिल्लो भागमा रहेकोे पानीको मुहानसहितको कुवाको पानीलाई रिजर्भ पानी ट्याङ्कीमा जम्मा गरेर हरेक दिन बिहान पिउन योग्य यो पानी ढुङ्गेधारामा आउने व्यवस्था गरिने भएको छ । 

पार्कका बारेमा जानकारी दिँदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले पार्क निर्माणका लागि नगरपालिकाले यस वर्ष एक करोड बजेट विनियोजन गरे पनि त्यसका लागि करिब ३ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको बताउनुभयो । 

एकवर्षभित्र पार्क निर्माण सम्पन्न गरी आगामी वर्ष नेपाल सम्बतको पहिलो दिन उद्घाटन गर्ने लक्ष्यका साथ काम अगाडि बढेको जानकारी दिदै उहाँले शंखधर चोक गुरुयोजना बनाएर गुरुयोजनामार्फत काम सुरु भएको बताउनुभयो । 

पार्कमा तीनवटा धारामा पानी बग्ने व्यवस्था गरिनेछ भने फोहोर फाल्न रोक लगाइने छ । स्थानीयहरुले फोहोर फाल्ने भिरालो जग्गामा आकर्षक शंखधर पार्क भन्ने भए पछि ऊर्जा थपिएको उहाँले बताउनुभयो । 

हरेक वर्ष शंखधर दिवस मनाउने

त्यसैगरि मध्यपुर थिमि नगरपालिकाले हरेक वर्ष शंखधर दिवस भव्य रुपमा मनाउने घोषणा गरेको छ । हरेक वर्ष मंसिर २ गते पर्ने शंखधर दिवसमा निर्माणाधीन शंखधर पार्कमा उपत्यकाका १८ वटा नगरपालिकाका प्रमुखको आतिथ्यतामा दिवस मनाउने भएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । 

शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको दिन नेपाल संवतको कछलाथ्व दशमीका दिन हरेक वर्ष दिवस मनाउने भएको हो । 

उहाँले भन्नुभयो—‘यसवर्षदेखि मध्यपुरथिमि नगरपालिकाले हरेक वर्ष भव्य रुपमा शंखधर दिवस मनाउने छ । शंखधर साख्वाको योगदान देशव्यापी रुपमा फैलाउन सबै नगरपालिकाका प्रमुखहरुको साथ र सहयोग चाहिन्छ, त्यसैले सबै नगरपालिकाले अपनत्व ग्रहण गर्ने गरी दिवस मनाउन लागिएको हो ।’

काठमाण्डौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई प्रमुख अतिथि बनाएर गरिने यो कार्यक्रमसँगै उपत्यकाको संस्कृति, ऐतिहासिक संरचना, सम्पदाको संरक्षणमा उपत्यकाका सबै नगर प्रमुख एक मत भएर अगाडि बढ्ने सन्देशसमेत दिइने भएको छ । 

त्यसदिन शंखधर पार्क अगाडि रहेको खाली जग्गामा सामुदायिक भवन निर्माणको शिलन्याससमेत गरिने भएको छ । पंचायतकालमा तत्कालीन गाविस भवन रहेको यो जग्गामा भवन भत्किएर खाली अवस्थामा रहेकाले त्यस क्षेत्रमा सामुदायिक भवन निर्माण गरिने भएको हो । 

कार्यक्रमबारे जानकारी दिँदै नगरपालिकाका प्रशासकीय अधिकृत ज्ञवालीले शंखधर दिवस कार्यक्रमको सम्पूर्ण तयारी भएको बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया