विश्वका एक अर्बभन्दा धेरै मानिसमा मोटोपनाको समस्या

 फागुन १८, २०८० शुक्रबार १८:२७:१७ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

विश्वका एक अर्बभन्दा धेरै मानिसमा मोटोपनाको समस्या देखिएको छ । 'द लान्सिट जर्नल' मा भर्खरै प्रकाशित एउटा शोधपत्रका अनुसार सन् २०२२ मा ८८ करोड वयस्क र १५ करोड ९० लाख बालबालिका गरी एक अर्ब तीन करोड ९० लाख मानिसमा मोटोपनाको समस्या देखिएको हो ।

सन् १९९० को तथ्याङ्कसँग तुलना गर्दा मोटोपना हुने समसया वयस्कमा दुई गुणा र बालबालिकामा चार गुणाले बढेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) सँगको समन्वयमा एक हजार पाँच सय अनुसन्धानकर्ताहरूले विश्वभरिका २२ करोड मानिसको तौल र उचाइ अध्ययन गरेर प्रतिवेदन बनाएका हुन् ।

वरिष्ठ अनुसन्धानकर्ता तथा बेलायतको 'इम्पेरिअल कलेज' का प्राध्यापक मजिद इजाटीले मोटोपनामा अस्वस्थकर खानाको उपलब्धता मुख्य कारण रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रस एड्हानम गेहब्रेयससले नयाँ अध्ययनले मोटोपनाबाट जोगिन जीवनको शुरुवातदेखि वयस्क हुँदासम्म नै उचित आहार, शारीरिक क्रियाकलाप र हेरचाह महत्त्वपूर्ण रहेको देखिएको बताउनुभयो ।

उहाँले स्वस्थकर खानालाई सुलभ बनाउन र शारीरिक गतिविधि बढाउन प्रोत्साहन आह्वान गर्नुभएको बीबीसीले जनाएको छ । मोटोपनाका कारण मुटुरोग, मधुमेह, क्यान्सर लगायतका कैयौँ स्वास्थ्यसम्बन्धी गम्भीर समस्या उत्पन्न हुन सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया