विश्वकप छनोट यात्राको तयारी राम्रो भएको प्रशिक्षक अल्बर्टो एनेसको भनाइ

 फागुन ३०, २०८० बुधबार ७:६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत बहराइनसँगको खेलका लागि छोटो समयका बाबजुद राम्रो तयारी गरेको बताएका छन् । छनोटको दोस्रो चरणअन्तर्गत नेपालले बहराइनसँग आउँदो चैत ८ र १३ गते खेल्नेछ । त्यसअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

प्रशिक्षक एनेसले ६ दिनको छोटो समय प्रशिक्षण गरे पनि तयारी राम्रो भएको बताएका हुन् । धेरै नयाँ र युवा खेलाडीसँग काम गर्न आफू उत्साहित रहेको प्रशिक्षक एनेसको भनाइ छ । अनुभवी खेलाडी रोहित चन्दसँगै नेपाली टोलीका आयुष घलान, एरिक बिष्ट, सुरज्यु ठकुरी, दीप कार्की र सन्तोष खत्री बहराइन जाने टोलीमा छैनन् । रोहित पारिवारिक कारणले छनोटमा समावेश हुन पाएनन् भने बाँकी राष्ट्रिय टोलीमा रिपोर्टिङ नगरेका कारण प्रशिक्षक एनेसले बाहिर राखेको बताइएको छ ।

प्रशिक्षक एनेसले अनुभवी खेलाडीविहीन भएर खेल्न केही चुनौती रहने स्वीकार गरेका छन् । उनले विभिन्न कारणले आयुष, दीपलगायत खेलाडी तयारीमा समावेश नभएको उल्लेख गर्दै उनीहरूको विकल्पमा जान आफू बाध्य भएको पनि उल्लेख गरेका छन् ।  छनोटको दोस्रो चरणको दुवै खेल नेपालले बहराइनमा खेल्दैछ । एक मात्रै अन्तर्राष्ट्रिय स्तरको दशरथ रङ्गशाला खेल्न योग्य नहुँदा नेपालले दुवै खेल बहराइनमा खेल्न लागेको हो ।

'होम म्याच' खेल्न नपाउनु टोलीको लागि चुनौती हुने उनको भनाइ छ । यद्यपि आफू र आफ्नो टोली त्यो चुनौती सामना गर्न तयार रहेको प्रशिक्षक एनेस बताउँछन्। यसअघि हिजो नै एन्फाले मलेसियासँगको मैत्रीपूर्ण खेल तालिका सार्वजनिक गरेको थियो ।  एन्फाका अनुसार नेपाल र मलेसियाबीचको एक मात्र मैत्रीपूर्ण खेल शुक्रवार हुनेछ ।

यो खेलपछि नेपाली टोली बहराइन जानेछ । मैत्रीपूर्ण खेल र विश्वकप छनोट यात्राका लागि २३ सदस्यीय टोली घोषणा भएको हो । प्रशिक्षक एनेसले ६ जना नयाँ अनुहारसहित नेपाली फुटबल टोली घोषणा गरेका हुन् । इटालियन प्रशिक्षक एनेसले रोहन कार्की, विशाल बस्नेत, अभिषेक लिम्बू, अजय चौधरी, सौभाग्य राई र समिर तामाङलाई पहिले पटक राष्ट्रिय टोलीमा समावेश गरेका छन् ।

अनुभवी खेलाडी भरत खवासले पुनरागमन गरेका छन् । छनोटको समूह ‘एच’ मा रहेको नेपालले यस अघिका दुवै खेलमा हार व्यहोरेको थियो । नेपालले पहिलो खेलमा युएईसँग ४–० तथा दोस्रो खेलमा यमनसँग २–० को हार व्यहोरेको थियो । नेपाली टोलीको गोलकिपर किरणकुमार लिम्बू, अभिषेक बराल, विशाल सुनार, रक्षकमा अजय चौधरी, अनन्त तामाङ, अभिषेक लिम्बु, छिरिङ लामा, सनिस श्रेष्ठ, सुमित श्रेष्ठ, सौभाग्य राई छन् ।

त्यस्तै मिडफिल्डरमा भरत, विशाल बस्नेत, लाकेन लिम्बू, मणीकुमार लामा, मनिष डांगी, रोहन कार्की, उत्सव राई र फरवार्डमा अञ्जन बिष्ट, दिनेश हेम्जन, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समीर तामाङ, सञ्जिव बिष्ट छन् । हिजो एन्फा कम्प्लेक्समा एक कार्यक्रमका बीच नेपाली टोलीलाई एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले बिदाइ गरेका थिए ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया