भारतकाे 'आईटी हब' बेङ्गलाेरमा पानीकाे सङ्कट बढ्दै

 चैत २, २०८० शुक्रबार १५:३:१० | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

भारतको 'आईटी हब' भनिने कर्नाटक राज्यको बेङ्गलोर सहरमा पानीको अभाव बढ्दै गएको छ ।

बेङ्गलोर भारतको तेस्रो सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर पनि हो । ९५ किलोमिटर परको कावेरी नदीबाट एक सय ४५ करोड लिटर पानी बेङ्गलोर सहरका लागि ल्याउने गरिएको छ । बाँकी ६० करोड लिटर पानी बोरवेलबाट प्रयोग हुँदै आएको छ । अहिले बेङ्गोरवासीलाई दैनिक २० करोड लिटर पानी अपुग भइरहेको बीबीसीले जनाएको छ ।

कमजोर मनसुनी प्रणालीका कारण वर्षा कम हुँदा कावेरी नदीको जलस्तर र बेङ्गलोर सहरका भूमिगत पानीको स्तर लगातार घटिरहेको छ । बेङ्गलोर सहरमा गाभिएका एक सय १० गाउँमा रहने मानिसहरू सबैभन्दा धेरै पानीको सङ्कटको मारमा परेका खबरमा उल्लेख छ ।

यीमध्ये केही गाउँलाई कावेरी खानेपानी परियोजनाको चरण–४ अन्तर्गत पानी वितरण हुँदै आएको थियो । तर अहिले बहुतले भवन र घर बन्ने क्रम थपिँदै गए पनि पानीको आपूर्ति त्यहीअनुसार हुन सकेको छैन ।

पानीको सङ्कट बढ्दै गएपछि बेङ्गलोर वाटर सप्लाई बोर्डले खानेपानी स्विमिङ पुलमा प्रयोग गर्न प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नियमको उल्लङ्घन गर्नेलाई पाँच हजार भारु जरिबाना तिराइने खबरमा उल्लेख छ । यसअघि बोर्डले खानेपानीको प्रयोग गाडी धुन, कपडा धुन, निर्माणका काममा प्रयोग गर्न, बोटबिरुवामा हाल्न प्रतिबन्ध लगाएको थियो ।

पानीको सङ्कट बढेसँगै सूचना प्रविधि सम्बन्धित कम्पनीहरूले घरबाटै काम गर्ने व्यवस्था अनिवार्य गर्न मुख्यमन्त्रीसँग माग गरेका खबरमा उल्लेख छ । यस्तै केही ठाउँमा बहुतले भवनमा बस्दै आएकाहरूका लागि हप्तामा दुई दिनमात्रै गाडी धुन तथा आधी बाल्टी पानीले नुहाउन र आधीले शौचालय सफा गर्न भनिएको खबरमा उल्लेख छ ।

बेङ्गलोर सहरका अधिकारीले पानीको सङ्कट आउँदो सय दिनभन्दा धेरै समय नहुने बताएका छन् । कावेरी परियोजना चरण–५ अन्तर्गत पानी आउन शुरु भएपछि मे महिनासम्ममा पानीको सङ्कट हटिसक्ने अधिकारीले बताएका खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया