आईपीएल क्रिकेटमा हैदरावादले मुम्बईलाई हरायो, विभिन्न कीर्तिमान कायम

 चैत १५, २०८० बिहिबार ६:३९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इन्डियन प्रिमियर लिग, आईपीएल क्रिकेटमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई हराएको छ । विभिन्न कीर्तिमान बनेको खेलमा हैदराबादले मुम्बईलाई ३१ रनले हराएको हो । हैदरावादले दिएको २ सय ७८ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय ४६ रन बनायो ।  मुम्बईका तिलक वर्माले सर्वाधिक ६४ रन बनाए ।

यस्तै टिम डेभिडले ४२, ईशान किसनले ३४, नमन धिरले ३० र रोहित शर्माले २६ रन बनाए । हैदरावादका जयदेव उनादकट र प्याट कमिन्सले समान २/२ विकेट लिए । यसअघि घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७७ रन बनायो ।

आईपीएल क्रिकेटमा यो अहिलेसम्मकै धेरै रन हो । यसअघि रोयल च्यालेन्जर्स बैंगलोरले २०१३ मा पुने वारियर्स इन्डियासँग बनाएको २ सय ६३ रनको कीर्तिमान पनि हिजो हैदरावादले तोेडेको छ । दुवै इनिङ्समा गरेर हिजो ५ सय २३ रन बनेको छ, यो पनि अर्को कीर्तिमान हो ।

हिजो हैदरावादका लागि हेनरिक क्लासेनले ३४ बलमा ४ चौका र ७ छक्का सहित सर्वाधिक ८० रन बनाए । यस्तै अभिषेक शर्माले ६३ र ट्रेभिस हेडले ६२ रन बनाए । यो आईपीएलमा हैदरावादको पहिलो जित हो भने मुम्बईको लगातार दोस्रो हार हो । आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले खेल्दैछन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया