नेभिगेशन

पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकबारे अनुसन्धान गर्न पाँच दिनको म्याद थप

काठमाण्डाै - प्रहरीले साेमबार काठमाण्डौका विभिन्न ठाउँबाट पक्राउ गरेका १ सय २२ जना चिनियाँ नागरिकलाई पाँच दिनको लागि म्याद थप गरेको छ ।

पक्राउ परेकामध्ये ४ जनालाई महानगरीय प्रहरी परिसर काठमाण्डौबाट र ३८ जनालाई महाराजगञ्ज वृत्तबाट म्याद थप गरेको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

म्याद थपका लागि सरकारी वकिलको कार्यालय काठमाण्डौ र जिल्ला अदालत काठमाण्डौको टोली प्रहरी कार्यालयमै पुगे पनि भाषाकाे समस्या तथा संख्या धेरै भएकोले जिल्ला अदालत र जिल्ला सरकारी वकिलको कार्यालयको समन्वयमा म्याद थप गरिएको हो । अहिले उनीहरुलाई अनुसन्धानका क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा म्याद थप गरिएको एसपी पाण्डेले बताउनुभयो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी, महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी परिसर काठमाण्डौकाे संयुक्त टोलीले साेमबार बुढानिलकण्ठ, मनमैजु तथा बाँसबारीमा सर्च अप्रेसन चलाएर उनीहरुलाई पक्रेको हो । ठूलो संख्यामा चिनियाँ नागरिकले अवैध क्रियाकलाप गरिरहेको सूचनाको आधारमा एक हजार भन्दा धेरै प्रहरी परिचालन गरेर उनीहरुलाई पक्राउ गरिएको व्यूरोको प्रवक्ता एसपी पाण्डेले बताउनुभयो ।

पूर्ण तयारीका साथ सर्च अभियान चलाइएको भए पनि केही व्यक्ति भागेको आशंकामा खोजी भइरहेको पाण्डेले जानकारी दिनुभयो । भिजिट भिसामा आएका चिनियाँहरुले ब्यारेक शैलीमा क्याम्प खडा गरेर अत्याधुनिक प्रविधिका साथ काम गरिरहेको भेटिएकोले ठूलै अपराधिक गिरोह हुनसक्ने आशंकामा छानबिन अघि बढाइएको पनि एसपी पाण्डेले बताउनुभयो ।

यसैबीच चीन सरकारले नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त अप्रेसनमा उनीहरु पक्राउ परेको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयले मंगलबार सीमा अपराध र साइबर क्राइममा संलग्न रहेको आशंकामा उनीहरुलाई पक्रन दुवै देशको प्रहरीको संयुक्त अपरेसन चलाएको जानकारी गराएको हो ।

तर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले सूचना आदानप्रदान भए पनि सर्च अभियान भने नेपाल प्रहरीले मात्रै चलाएको बताउनुभयो ।

प्रकाशित मिति:
थप समाज