अर्थतन्त्रमा समस्या छैन; नीति, कार्यक्रम र बजेट आफैँ बनाउँछु : प्रधानमन्त्री प्रचण्ड

 चैत १६, २०८० शुक्रबार १८:५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्र सङ्कटमा नरहेको दाबी गर्नुभएको छ ।

हेटौँडामा निर्माण व्यवसायी महासङ्घको २५ औँ साधारण सभाको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारको बाटोमा रहेको भन्दै अहिले सङ्कट नरहेको दाबी गर्नुभयो । अघिल्लो वर्ष यसै समयमा देशको अर्थतन्त्र कमजोर अवस्थामा रहेकोमा अहिले धेरै सुधार भइसकेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले आउँदो वर्षका लागि नीति तथा कार्यक्रम, बजेट निर्माणमा आफैँ नेतृत्व लिने गरी तयारी गरेको पनि बताउनुभयो । उहाँले अघिल्लो सरकारमा प्रधानमन्त्री एकातिर कुद्न चाहने र अर्थमन्त्री अर्कोतिर कुद्न चाहँदा निकै जटिल भएको भन्दै अब आफैँ नेतृत्व गरेर बजेट निर्माण गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले निर्माण उद्योगमैत्री कानुन निर्माणलाई सरकारले प्राथामिकतामा राखेको उल्लेख गर्नुभयाे । उहाँले खरिद प्रक्रियामा रहेको प्रक्रियागत ढाँचालाई सरल बनाउनु आवश्यक रहेको भन्दै निर्माण व्यवसायीको समेत सहभागितामा ऐन संशोधन गरी पूर्वाधार विकासका कामलाई गति दिने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले अब रणनीतिक आयोजना ओझेलमा पर्ने, अनावश्यक आयोजना थपिँदै जाने, राज्यको दायित्व बढ्दे जाने र खास गुणात्मक प्रतिफल नदेखिने बेथितिको दुष्चक्रबाट मुक्त हुनेगरी काम गर्न सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिइसकेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया