राप्रपा सत्तामा आएपछि भ्रष्टाचारीमाथि डोजर चलाउँछ : राजेन्द्र लिङ्देन

 कात्तिक २५, २०७९ शुक्रबार १८:४५:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नाे पार्टी सत्तामा आए भ्रष्टाचारीमाथि डोजर चलाउने जिकिर गर्नुभएकाे छ । 

आज शुक्रवार काठमाण्डाैमा पार्टीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीमाथि डोजर चलाउने बताउनुभएको हो । उहाँले काठमाण्डाै उपत्यकाका मेयर बालेन साहले अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीमाथि डोजर चलाउने इच्छा रहेको बताउनुभयो । नागरिक आयोग गठन गरी विसं २०४६ सालपछि जिम्मेवारी पाएका राज्यका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने उहाँकाे भनाइ थियाे । 

उहाँले भन्नुभयो, ‘बालेनले काठमाण्डाैकाे अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारिमाथि डोजर चलाउने इच्छा छ । फागुनसम्म अस्तिका सबै सांसदले तलब भत्ता पाइराख्ने दशैँ पेस्की पाइराख्ने विधेयक ल्याए । योभन्दा ठूलो भ्रष्टाचार अर्को केही पनि हुन सक्दैन ।’

अध्यक्ष लिङ्देनले भ्रष्टाचारको विरुद्धमा आफू निरन्तर लागिरहेको उल्लेख गर्नुभयो । उहाँले आफू संसदमा एक्लो भएकाले आउँदाे चुनावबाट आफूलाई संसदमा साथी दिलाइदिन आम मतदातासँग आग्रह पनि गर्नुभयो । आफूले पाँच वर्ष संसदमा खेलेको भूमिका राम्रो लागेको भए आफूसँगै राप्रपाका अन्य उम्मेदवारलाई पनि जिताउन उहाँकाे आग्रह थियाे । 

अध्यक्ष लिङ्देनले पुराना दलहरूलाई फेरि पनि मतदान गर्नु देशलाई बरबाद गर्नुभएको टिप्पणी गर्नुभयो । उहाँले कांग्रेस र कम्युनिस्त मतदातालाई आफ्नो पार्टी नछाडे पनि मत भने राप्रपालाई दिनका लागि आग्रह गर्नुभयो । 

उहाँले वर्तमान राजनीतिक व्यवस्था र नेतृत्व असफल भइसकेकाे दाबी गर्दै व्यवस्था र नेतृत्व परिवर्तन गर्नुपर्ने जिकिर गर्नुभयाे । ठूला राजनीतिक दलहरूको विकल्पको रूपमा राप्रपा रहेको उहाँको भनाइ थियाे । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया