प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित, पक्षमा १ सय ४७ र विपक्षमा १ सय ८ मत

 असार १३, २०८० बुधबार १६:५६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ ।

प्रतिनिधि सभाको आज बुधवारको बैठकमा उपस्थित भएका दुई सय ५५ जना सांसदमध्ये एक सय ४७ मतसहित बजेट पारित भएको हो । बजेटको विपक्षमा एक सय आठ मत परेकोले बुहमतबाट बजेट पारित भएको सभामुख देवराज घिमिरेले बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजन मागेपछि बजेट पारितका लागि मतदान भएको हो । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आउँदो आर्थिक वर्ष २०८०/८१ बजेट अर्थात् विनियोजन विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव राख्नु भएकोमा त्यसलाई सभामुख देवराज घिमिरले ध्वनिमतबाट पारित भएको घोषणा गर्नुभएको थियो । सभामुख घिमिरले हुन्छ वा हुन्न भन्ने ध्वनिमतका आधार घोषणा गर्नुभएकोमा एमालेका सांसद महेशकुमार बर्तौलाले नियमापत्ति गर्नुभयो । एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले मत विभाजन गर्नुपर्ने माग गरेपछि मत विभाजन गरिएको हो ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीसहित सत्ता गठबन्धनका दलले बजेट पारित गर्न संसदीय दलमा अनिवार्य उपस्थिति हुन र प्रस्तावको पक्षमा मतदान गर्न 'ह्विप' लगाएका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका विपक्षी दलले विपक्षमा मतदान गरे । 

पारित भएसँगै आउँदाे साउन १ गतेदेखि नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा आउनेछ । गएकाे जेठ १५ गते सरकारले आउँदा आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब रुपैयाँकाे बजेट ल्याएकाे थियाे ।

नेपालको संसदीय इतिहासमै पहिलो पटक मत विभाजनबाट सरकारको बजेट पारित भएको हो । यसअघि सत्तापक्षकै सांसदहरूले बजेट संशोधन नगरि पास हुन नदिने बताएपछि सरकार झस्किएको थियो ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया