सामाजिक सञ्जाल सूचीकृत शुरु :भाइबर दर्ता, लिंक्डईन र स्न्यापच्याट प्रक्रियामा

 चैत ३, २०८० शनिबार ९:१८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सरकारले नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरूलाई सूचीकृत गर्ने काम थालेको छ । भाइबर दर्ता भैसकेको छ भने लिंक्डईन र स्न्यापच्याट दर्ता हुने क्रममा छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तीन महिनाभित्र सामाजिक सञ्जालहरुलाई सूचीकृत हुन आह्वान गरेकोमा अहिलेसम्म भाइबर, लिंक्डईन र स्न्यापच्याट सूचीकृत हुन मन्त्रालय आएका थिए ।

यसमध्येमा भाइबरको सबै प्रक्रिया पूरा भइ दर्ता गरिएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नेत्र प्रसाद सुवेदीले उज्यालोलाई जानकारी दिनुभयो । प्रवक्ता सुवेदीका अनुसार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेे निर्देशिका जारी भएसँगै सूचीकृत गर्न थालिएको हो । लिंक्डईन र स्न्यापच्याटको दर्ता हुने प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।

लिंक्डईनले सबै कागजात बुझाइसकेकोले केही दिनमै दर्ता हुने उहाँको भनाइ छ । स्न्यापच्याटले भने केही कागजात  बुझाउन बाँकी छ ।

गएको मंसिर १५ गते नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालहरुलाई तीन महिनाभित्र सूचीकृत हुन आह्वान गरेको थियो । मन्त्रालयले सामाजिक सञ्जालहरुलाई सूचीकृत हुनका लागि कुनै पनि शुल्क नलाग्ने जनाएको छ ।

देशभित्र सञ्चालित सामाजिक सञ्जालहरुलाई व्यवस्थित बनाउनका लागि सूचीकृत गर्न थालिएको मन्त्रालयको भनाइ छ ।  फेसबुक, एक्स, यूट्युब, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरुलाई पनि दर्ताको लागि मन्त्रालयले जानकारी गराइसकेको छ ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न बनेको निर्देशिकाले सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण गर्नुपर्ने उल्लेख छ । सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने पनि निर्देशिकामा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया