विद्यार्थीले किताब विद्यालयलाई दिन्छन्, त्यही किताब नयाँ आउनेले पढ्छन्

 चैत ९, २०८० शुक्रबार १०:३७:४२ | महेश ज्ञवाली
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको दरबार हाई स्कुलमा रहेको भानु माध्यमिक विद्यालयमा अहिले वार्षिक परीक्षा चलिरहेको छ । चैत ५ गते परेको परीक्षा दिन विद्यार्थी तयारीमा थिए । परीक्षा शुरु हुनुभन्दा केही समय अगाडि कक्षा ९ को परीक्षा दिँदै गरेका विद्यार्थी खेम बोहोरा पनि साथीसँग कक्षाकोठा बाहिर बसेर अन्तिम तयारी गर्दै हुनुहुन्थ्यो । नेपाली विषयको परीक्षामा सहभागी हुन उहाँले राम्रै तयारी गरेको बताउनुभयो ।

कैलालीको गोदावरी नगरपालिका घर भएका खेम काठमाण्डौको सिनामङ्गलमा दाइसँग बस्नुहुन्छ । खेमको तयारी राम्रो हुनुमा अरू धेरै कारण भए पनि समयमै किताब पाउनु पनि एक हो । कक्षा ८ पास गरेर ९ कक्षामा जाँदा बेलैमा किताब पाइँदैन भन्ने खेमलाई थाहा थियो तर उहाँलाई किताबकाे कुनै चिन्ता थिएन ।

अघिल्लो वर्ष ९ कक्षा पास गरेका विद्यार्थीका किताब विद्यालयले नै सङ्कलन गरेर राखेकाले किताब पाइने कुरामा उहाँ ढुक्क हुनुहुन्थ्यो । खेमले नयाँ शैक्षिक शत्र शुरु भएलगत्तै तिनै किताब लिनुभयो र शुरुदेखि नै तयारी गर्नुभयो । पुरानै भए पनि शुरुमै किताब पाएकाले तयारी गर्न पनि पर्याप्त समय मिल्यो । त्यसैले परीक्षापछिको नतिजा पनि राम्रो आउनेमा खेम विश्वस्त हुनुहुन्थ्यो ।

कक्षा ९ कै परीक्षा दिइरहनुभएकी छात्रा सृष्टि श्रेष्ठको अनुभव पनि उस्तै छ । सृष्टिले पनि अघिल्लो वर्ष विद्यार्थीले प्रयोग गरेका किताब लिएर नजानेका कुरा शिक्षकसँग सिक्नुभयो । पछि नयाँ किताब पनि पाउनुभयो । ‘यसपालि कक्षा ९ का केही किताब परिमार्जन भएर आयो । पुराना किताबमा भएका केही कुरा नयाँ किताबमा छुटेको रहेछ । त्यसैले पुराना किताबबाट पनि धेरै सहयोग मिल्यो’, उहाँले सुनाउनुभयो । सृष्टिले अहिले आफूसँग भएका किताब नयाँ आउने भाइबहिनीलाई हुन्छ भनेर जतन गरेर राख्नुभएको छ ।

विद्यालयले परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले प्रयोग गरेका किताब सङ्कलन गरेर नयाँ शैक्षिक वर्षमा त्यही कक्षामा प्रवेश गर्ने विद्यार्थीलाई निःशुल्क वितरण गर्छ । विद्यालयले किताब आउन ढिलाइको वर्षाैँ पुरानो समस्यालाई स्रोत, साधन र दिगो समाधानका साथ हल गरिरहेको छ । ‘पाठ्यपुस्तक आउन ढिलाइका कारण विद्यार्थीले भोग्नुपरेको निराशालाई हामीले बुझेका छौँ । यसको मुख्य उद्देश्य भनेको पुराना पाठ्यपुस्तक परिपूरकको रूपमा प्रयोग गर्नु, फोहोर व्यवस्थापनमा सहयोग तथा विद्यार्थी अभिभावकलाई आर्थिक भार कम गर्नु पनि हो’, प्रधानाध्यापक शारदा पौडेलले भन्नुभयो ।

सङ्कलन भएका किताब विद्यालयलमा पाँच महिनासम्म वितरण गर्न राखिन्छ । विद्यार्थीले शुरुमा पुरानै किताब पढे पनि पछि सरकारले दिएको नयाँ नै पाउँछन् । भानु माविमा अहिले झन्डै सात सय जना विद्यार्थी छन् । सरकारले किस्ता–किस्ता गरेर पठाउँदा एकैपटक सबै विद्यार्थीले किताब पाउँदैनन् ।

‘नेपाली, अङ्ग्रेजी, सामाजिक किताब शुरुमै वितरण हुन्छ तर विज्ञान, गणितका किताब आउन समय लाग्छ’, प्रधानाध्यापक पौडेलले भन्नुभयाे, ‘हरेक वर्ष परीक्षा पास गर्ने विद्यार्थी अर्को कक्षामा जान्छन्, नयाँ पाठ्यपुस्तक चाहिन्छ जुन प्रायः समयमै विद्यालयमा पुग्दैन । यसले विद्यार्थीको आवश्यक गतिमा पढ्ने र सिक्ने क्षमतामा दबाब दिन्छ ।’

यही समस्यालाई बुझ्दै विद्यालयले दुई वर्ष पहिले विद्यार्थीले प्रयोग गरेका किताब सङ्कलन गर्न थालेको हो । परीक्षा पास भएका विद्यार्थीले भर्ना हुन आउँदा पुराना किताब अनिवार्य ल्याउनुपर्छ । कक्षा शिक्षकको सहयोगमा पुराना किताब सङ्कलन गरिन्छ । नयाँ शैक्षिक वर्ष शुरु भएपछि सङ्कलन गरिएका किताब विद्यालयको कुनै एक ठाउँ राखिन्छ, विद्यार्थीलाई जानकारी दिएपछि चाहिने किताब आफैँले खोजेर लैजान्छन् ।

‘यो पहलले नयाँ विद्यार्थीलाई शुरुमा आवश्यक सिकाइ सामग्रीमा पहुँच भएको सुनिश्चित गर्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा त यसले विद्यार्थीलाई नयाँ किताब आउने प्रतिक्षा नगरि तुरुन्तै पठनपाठन शुरु गर्न सघाएको छ’, पौडेलले भन्नुभयो ।

अहिले भइरहेको वार्षिक परीक्षा सकिएसँगै विद्यार्थी वैशाखपछि शुरु हुने नयाँ शैक्षिक सत्रको तयारीमा जुट्छन् । उत्तीर्ण भएका विद्यार्थीलाई नयाँ किताब चाहिन्छ । तर हरेक वर्ष किताब छपाइ र वितरणमा सरकारले ढिलाइ गर्दा विद्यार्थीले समयमै पाउँदैनन् । यो समस्या सङ्घीय राजधानी काठमाण्डौमै भएका अन्य सामुदायिक विद्यालयजस्तै भानु माविले पनि भाेगिरहेकाे छ ।

तर विद्यालयको यो पहलले विद्यार्थीलाई मात्र फाइदा पुगेको छैन, किताबकाे सहज पहुँच नहुने ठाउँका विद्यार्थी वा आवश्यक परेका अन्य विद्यालयलाई समेत फाइदा पुगेकाे छ । भानु माविले सङ्कलन भएका किताब अन्य विद्यालयलाई पनि दिने गरेको छ ।

विद्यालयले विद्यार्थीमा जतन गर्ने चेतनाको विकास गर्दै किताब अभावको समस्यालाई सम्बोधन गर्न रचनात्मक तरिकाको थालनी गरेको छ । यसबाट अरू विद्यालयलाई पनि किताब समयमै उपलब्धता सुनिश्चित गर्ने कामलाई प्रेरित गर्ने प्रधानाध्यापक पौडेल बताउनुहुन्छ ।

‘याे प्रयासले विद्यार्थीले किताब नहुँदा भोग्नुपरेको समस्याको अन्त्य भएको छ । यो अभियान अरू विद्यालयले पनि लागू गर्ने हो भने सरकारले किताब छाप्नमा गर्ने खर्च बचत भएर अरू विषयमा खर्च गर्न सकिन्थ्यो । किताब पाइनँ भनेर विद्यार्थीले गुनासो गर्ने बाटो पनि बन्द हुने थियो’, उहाँले भन्नुभयो । यसका लागि सरकारले नीति बनाउनुपर्ने पनि प्रधानाध्यापक पौडेलको सुझाव छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

महेश ज्ञवाली

महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया