'ब्रेन चिप' प्रयोग गरी पक्षघातका बिरामीले अनलाइन चेस खेलेको भिडियो सार्वजनिक

 चैत १०, २०८० शनिबार ११:५५:४५ | एजेन्सी
unn.prixa.net

एजेन्सी

एलन मस्कको कम्पनी न्यूरालिंकको 'ब्रेन चिप' प्रयोग गरेर पक्षघातका बिरामीले अनलाइन चेस खेलेको भिडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जाल एक्सको नौ मिनेटको प्रत्यक्ष प्रशारणमा नोल्यान्ड अर्बाग नाम गरेका व्यक्तिले अनलाइन चेस खेल्नको लागि कर्सर प्रयोग गरेको देखिन्छ । गाडी दुर्घटना भएपछि अर्बागको काँध मुनी पक्षाघात भएको थियो ।

त्यसपछि उनको दिमागमा चिप प्रत्यारोपण गरिएको थियो । जटिल न्यूरोलोजिकल अवस्थाको सामना गर्न मानिसको दिमागमा कम्प्युटरमा जडान गर्नु नै ‘न्यूरालिङ्क’ कम्पनीको लक्ष्य हो । शल्यक्रिया एकदम सजिलो भएको अर्बागलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अर्बागले भिडियो गेम 'सिभिलाइजेशन भी.आई' खेल्न दिमागमा चिप प्रत्यारोपण प्रयोग गरेका थिए ।

एक पाउन्ड सिक्काको साइजमा रहेको ‘न्यूरालिङ्क’ दिमागमा राखिन्छ । यसमा माइक्रोस्कोपिक तारहरू हुन्छन् जसले न्यूरोन गतिविधि पढ्न सक्छ र प्राप्त गर्ने एकाइमा बिना तार पनि सङ्केत फिर्ता गर्न सक्छ । कम्पनीले सुँगुरहरूमा पनि परीक्षण गरेको छ । बाँदरहरूले पनि भिडियो गेम ‘पोङ’को आधारभूत संस्करण खेल्न सक्ने कम्पनीले दाबी गरेको छ ।

‘न्यूरालिङ्क’ लाई ‘फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन’ (एफडीए) ले सन् २०२३ को मे मा मानिसमा चिप परीक्षण गर्ने अनुमति दिएको थियो । ‘न्यूरालिङ्क’ यो प्रविधिलाई परिष्कृत गरी व्यापारीकरण गर्ने कम्पनी र विश्वविद्यालय विभागको बढ्दो सङ्ख्यामध्ये एक हो । यस्तै वैज्ञानिकले सङ्केत पत्ता लगाउन सक्ने अरू उपकरण पनि विकास गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया