विदेश गएर तीन वर्षमा झ्याप्पै कमाउँछु भन्ने नसोचे हुन्छ

 मंसिर १२, २०७५ बुधबार | मेरो कथा मेरो भोगाई

माधव बानियाँ/खोटाङ । 

अहिले प्राय युवाहरुले कमाउनलाई कि जागिर खानुपर्छ कि विदेश जानुपर्छ भन्ने गर्छन् । मैले पनि केही वर्ष अघिसम्म यस्तै सोच्थें । यस्तै सोचाईले इण्डियन आर्मीमा जागिर खानलाई प्रयास गरें ।

दुई पटक प्रयास गर्दा पनि सफल भइन । बरु झण्डै डेढ लाख रुपैयाँ सक्कियो । लाहुरे हुन नसकेको झ्वाँकमा काठमाडौं गएर विदेश पठाउने म्यानपावरमा पुगें । म्यानपावरले एउटा इलेक्ट्रोनिक्स कम्पनीमा हेल्परको काम आएको बतायो ।

त्यसका लागि एक लाख २० हजार तिरें । म्यानपावरले मलेसियामा ८ घण्टा काम गर्दा ९ सय रिंगिट बेसिक सेलरी र दैनिक चार घण्टा ओभरटाइम हुन्छ भन्यो । लाहुरे हुन नसकेको पीरमा मैले अरु केही सोच्दै सोचिनँ । 

मलेसिया गएँ । त्यहाँ म्यानपावरले भनेको जस्तै काम पाएँ । तलब पनि भनेको जस्तै थियो । तर ओभरटाइम चाहिँ कम्पनीले बनाएका सामान बिक्री भएको बेला हुन्थ्यो । ओभरटाइम हुँदा महिनामा झण्डै ५० हजार रुपैयाँ कमाइ हुन्थ्यो । नहुँदा ३५ हजार रुपैयाँ । यही कमाइमा दुई वर्ष ११ महिना मलेसियामा बसें ।

त्यति बसेर कमाएको पैसा घरमा पठाएँ पनि तर नेपालमा पनि घरपरिवार चलाउनुपर्‍यो । त्यसो गर्दा त्यो पैसा त्यतै जाँदो रहेछ । मलेसिया बसेर मैले लाहुरे हुन खोज्दा लिएको ऋणदेखि मलेसिया जाने बेलामा लिएको ऋण तिरें । अरु चाहिँ परिवारमै खर्च भयो । 

विदेश जाने बेलामा धेरैले दुई/तीन वर्ष बस्ने अनि झ्याप्पै कमाएर ल्याउने भन्ने सोच्छन् । तर विदेश गएर त्यसरी कमाउन सकिँदो रहेनछ । जाँदाको लगानी अनि परिवार चलाउने जिम्मेवारीले पैसा बचाउन सकिने रहेनछ । 

त्यति मात्रै होइन विदेश गएको तीन वर्षमा के नै पो गर्न सकिन्छ र । त्यहाँको वातावरण बुझ्दा र काम सिक्दा सिक्दै त्यति समय गइहाल्छ । विदेश नै गएर कमाउँछु भन्ने सोच्नेहरुले कि त ८/१० वर्ष नै विदेशमा बिताउन सक्नुपर्ने रहेछ । 

यत्ति बुझेपछि म घर फर्किएँ । अहिले गाउँमै किराना पसल चलाइरहेको छु । झण्डै तीन लाख रुपैयाँ लगानी गरेको पसलबाट मैले मलेसियाको जति नै कमाइरहेको छु । घरमा यही पसलको मात्रै काम छैन ।

मैले अरु काम पनि गरिरहेको छु । यसबाट परिवारलाई पनि सहयोग पुगेको छ । त्यसैले अहिले त वैदेशिक रोजगारी भन्ने कुरा मेरो सोचाइको प्राथमिकतामा पनि छैन । 

तपाईको प्रतिक्रिया