परदेशीको परिवारमा आत्महत्याको जोखिम र बच्ने उपाय

 असार २, २०७५ शनिवार | दुर्गाप्रसाद भट्टराई

चौध वर्षकी उपमाका बुवा तीन वर्ष अगाडि रोजगारीका लागि मलेसिया जानुभयो । मलेसिया पुगेको चार महिनामा २५ हजार रुपैयाँ पठाइदिनुभयो घर खर्चका लागि भनेर । 

एक वर्षसम्म फोन गरिरहेका उनले घरमा पैसा चाहिँ पठाएका थिएनन् । त्यसपछि त उपमाका बुवा सम्पर्कमा आउन छोडे । घर चलाउने खर्च जुटाउन गएका व्यक्ति हराएपछि उनकी आमालाई घर व्यवहार चलाउन गाह्रो हुन थाल्यो । 

कमाउने माध्यम केही नभएपछि उपमाकी आमा पनि ६ महिना अघि कुवेत जानुभयो । कुवेत पुगेपछि आमाले उपमासँग एक पटक फोनमा कुरा गर्नुभयो । त्यसपछि त आमाले पनि फोन गर्नुभएन । आमाले हिँड्ने बेला भाई बहिनीलाई राम्ररी हेर्नु भनेर गएकी थिइन् । उपमा आमाका कुरा मानेर भाइ बहिनी  स्याहारिरहेकी छिन् । तर आमाले उनीहरुलाई बिर्सिइन्   

खेत अँधिया लगाएकोले उपमालाई खाने दुख छैन । तर घरमा आमाबुवा दुवै विदेशमा सम्पर्कविहीन भएपछि समस्यामा परेकी उनलाई राम्रोसँग निन्द्रा लाग्दैन । खान पनि मन लाग्दैन । 

राती सुत्ने बेलामा आमा कतै समस्यामा पो परिन कि भन्ने लाग्छ । पटक पटक यही कुरा दोहोरिरहँदा उपमालाई दुई पटक आत्महत्याको सोच आयो । जति पटक बुवाआमाका बारेमा सोच्थिन त्यति नै पटक उनलाई बाच्न मन लाग्दैनथ्यो । तर त्यतिबेला उनले आफूलाई सम्हालिन् ।

भाइबहिनीलाई सम्झिएर उनले त्यो सोचबाट आफूलाई टाढा राख्छिन् । वैदेशिक रोजगारीका परिवारमा हेर्दा साना लाग्ने यस्ता कुराले आत्महत्याको सोच आउन सक्छ । आफूले जानी जानी आफनो हत्या गर्नु आत्महत्या हो ।

विभिन्न संस्थाहरुले गरेको अध्ययनले मानिसले दुई कारणले आत्महत्या गर्ने गरेको देखाएको छ । पहिलो रिसको झोंकमा अनि दोस्रो योजना बनाएर । मान्छेलाई जीवनमा ५ सेकेण्ड आत्महत्याको सोच आउने अध्ययनहरुले दावी गरेका छन् । 

अहिले विश्वमा आत्महत्याको दर बढेको छ । विश्मा तीन सेकेण्डमा एक जनाले आत्महत्या गर्ने  प्रयास गर्दछन् । विश्मा हरेक वर्ष दश लाख व्यक्तिले आत्महत्या गर्ने गरेको पाईन्छ । एक जनाको आत्महत्याले १० देखि २० जनालाई आत्महत्याका लागि उक्साउने गरेको पनि अध्ययनहरुमा देखाइएको छ । 

नेपालमा एक दिनमा झण्डै १५ जनाले आत्महत्या गर्ने गरेको पाइन्छ । जसमा महिलाको सङख्या बढी छ । नेपाल दक्षिण एसियामा श्रीलङ्कापछि दोस्रो बढि आत्महत्या हुने देश हो ।

आत्महत्याको कारण 

विश्वमा आत्महत्याको ८० देखि ९० प्रतिशत कारण व्यतिmको मनोसामाजिक समस्यालाई मानिन्छ । अर्थात उदासिपनानै आत्महत्याको प्रमुख कारण हो । उदासिपनलाई हामी डिप्रेसन भन्ने गर्छौं । बाँकी १० प्रतिशतमा  सामाजिक तथा पारिवारिक लान्छना, समाज तथा परिवारबाट भोग्नु परेको भेदभाव , जीवनमा सोच्दै नसोची आइपर्ने घटना पर्दछन् । 

आत्महत्या चरम नैराश्यको परिणाम हो । आत्महत्या गर्ने व्यतिm लामो समयदेखि दोमनमा हुने गर्दछ । मन भित्रभित्रै जीवन कसरी अन्त्य गर्ने भनेर योजना बनाइरहेका हुन्छन् । परदेशीका परिवारमा पनि यस्तो सोच आउने गरेको पाइएको छ । 

उनीहरुमा त्यस्तो सोच आएपछि देखिने लक्षणलाई विभिन्न चरणमा विभाजना गरेर हेर्न सकिन्छ । 

न्युन जोखिम लक्षणहरु

कहिलेकाहीँ आत्महत्याको विचार आउने

सामान्य परिवर्तन भएपनि दैनिक व्यवहार उस्तै हुनु 

कमजोर भएको महसुस गर्नु 

मध्यम जोखिम लक्षणहरु 

प्रत्येक दिन एकभन्दा धेरै पटक आत्महत्याको विचार आउनु

दैनिक काम जस्तै खान, पढाई तथा निद्रा पहिलाको जस्तो नहुनु  

चिडचिडाहट हुनु तथा एक्लोपन हुनु  

उच्च जोखिम लक्षणहरु

आत्माहत्याको विचार लगातार आउनु

दैनिक काममै असर पर्नु 

वास्तविकता के हो भनेर बुझ्नै नचाहनु 

आफूलाई कमजोर, दुखी र केही गर्नै नसक्ने सोच्नु 

कसरी जोगिने आत्महत्याबाट 

आत्महत्या गर्ने सोच कुराकानी तथा परामर्शमार्फत परिवर्तन गराउने

के कुराले तनाव दिएको हो भनेर पत्ता लगाई त्यसको समाधान गर्ने तर्फ अग्रसर गराउने 

तनावमा भएका व्यक्तिका कुरा सुन्ने, उनीहरुलाई समय दिने अनि हौसला दिने 

आत्महत्या गर्न प्रयोग गर्ने साधनहरु तनावमा रहेका व्यक्तिबाट टाढा राख्ने 

भविष्य र जीवनप्रति आशा जगाउने 

मनोविद्, मनोचिकित्सक वा मनोपरामर्शकर्ताको सम्पर्कमा ल्याउने ।

(घटना सर्लाहीको भएपनि परिचय गोप्य राख्न उपमाको पुरा नाम उल्लेख नगरिएको हो ।)
 

दुर्गाप्रसाद भट्टराई

भट्टराई ग्रामिण नारी उत्थान संघ हरिपुर सर्लाहीको सहजीकरणमा हरिऔनमा सञ्चालित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा मनोसामाजिक परामर्शकर्ताका रुपमा कार्यरत हुनुहुन्छ । उहाँलाई फेसबुकमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया