अरुले ठूलो सुटकेश बोकेर फर्किएको देखेर मात्रै विदेश जान हतार नगरौं

 साउन २६, २०७५ शनिवार | मेरो कथा मेरो भोगाई

विपिन मल्ल, धादिङ । 

वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्ने संस्थामा आबद्ध भएपछि यस बारेमा धेरथोर बुझ्ने मौका पाएँ । हाम्रो समाजमा विदेश जाने कारण एउटा मात्रै छैन । धेरै युवा देशमा रोजगारीको अवसर नदेखेर विदेश गइरहेका छन् ।

यहाँ काम गरिरहेकाहरु पनि त्यो भन्दा राम्रो कमाई हुने आशामा विदेश गएकाहरु पनि भेटेको छु । अर्को चाहिँ अरुको देखेर विदेशिनेहरुको सङ्ख्या पनि कम छैन गाउँघरमा । विदेशको काम, त्यहाँ हुने कमाई के हो भन्नेतिर कोही लाग्दैन ।

विदेशबाट फर्किएकाहरुलाई हेरेर र देखेर विदेश जान पाए त यस्तै भइन्थ्यो भन्ने मात्रै सोचिरहन्छन् । अरुले ठूलो सुटकेश गुडाएर नेपाल फर्केको देखिन्छ । कालो चस्मा र अनि कम्मरमा ‘मनि ब्याग’ झुन्डाएर आएको देखिन्छ । विदेशमा उनीहरुले के काम गरेर फर्किए, विदेशमा दुःख छ र हुन्छ होला भनेर सोच्नेहरु धेरै छैनन् । 

धादिङबाट अहिलेसम्म ४५ हजार युवा वैदेशिक रोजगारीमा गएको तथ्याङक छ । विदेश गएका परिवारलाई भेट्न जाँदा केही न केही समस्या भएकै पाएको छु । सामाजिक परिचालक भएपछि वैदेशिक रोजगारीमा गएका व्यक्तिका घरमा पुगेको छु ।

मैले पुगेका धेरै घरका व्यक्ति कि खाडीका देश गएका कि मलेसिया । युरोप र अमेरिका जानेहरु पनि छन् तर औंलामा गन्न सकिने मात्रै । खाडीका देश र मलेसिया जानेहरुका परिवारको गुनासो जानेहरुले भनेको काम र कमाई नभएको भन्ने हुन्छ । जसले गर्दा विदेश जाँदा लिएको ऋण तिर्न नसकेर समस्या भइरहेको छ । 

जाने अघि धेरै कुरा ख्याल गर्नुपर्छ । सरकारले फ्रि भिसा, फ्रि टिकट भनेको पनि धेरै भइसक्यो तर लागु भएन । म्यानपावरले एक लाख रुपैयाँ भन्दा धेरै पैसा लिएर १० हजारको मात्रै बिल दिएर ठग्ने क्रम बढीरहेकै छ । 

त्यसैले आँखा चिम्लेर र अरुले ठूलो सुट्केश बोकेर फर्किएको देखेर मात्रै विदेश जानु हुँदैन । त्यसले आफैंलाई अप्ठ्यारोमा पार्छ । विदेश जानेहरुले घरमा राम्रोसँग सल्लाह गर्नुहुन्न ।

जाने देशका बारेमा बुझ्ने अनि केही न केही काम सिकेर जानेहरु निक्कै थोरै छन् । एजेण्टले भनेका कुरा पत्याएर उनीहरुको पछि लाग्दा समस्या हुन्छ । त्यसैले विदेश जानेहरुले यसमा ध्यान दिन जरुरी छ ।

हुन त विदेश नै नजानु राम्रो भन्दा रोजगार खै त भन्ने प्रश्न आउँछ । तर पनि विदेश जाने सोच्नुभन्दा अगाडि सकेसम्म आफ्नै ठाउँमा अवसर खोजौं । यदी विदेश जाने निधो गर्नुभयो भने कसरी सुरक्षित हुन सकिन्छ भनेर सोचौं र त्यसका लागि गर्नुपर्ने काम गरौं ।

सिप सिकेर, दक्ष भएर आफू जाने देशका बारेमा राम्रोसँग बुझेर जाऔं । धादिङबाट विदेश जानेको तथ्याङ्क हेर्दा गएकाहरु मध्ये १० प्रतिशत मात्रै सिप सिकेर गएको देखिन्छ । ९० प्रतिशत अदक्ष रुपमै विदेशिएका छन् ।

समस्यामा पर्नेहरु यही ९० प्रतिशतभित्रका व्यक्ति छन् । त्यसैले सुरक्षित भएर विदेश जानु पर्छ । केही कुरा नबुझी, नसिकी जाँदा जति जोखिम हुन्छ सिप सिकेर र बुझेर जाँदा त्यस्ता जोखिमहरु जोगिन सकिन्छ । 

जनप्रतिनिधि र सरकार पनि जिम्मेवार हुनुपर्छ 

कामदारसँगै सरकारले पनि उनीहरुका बारेमा सोचिदिनु पर्छ । भन्न चाहिँ विदेशबाट युवाले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको भन्ने त उनीहरुको भविष्यका बारेमा केही नसोच्ने अनि त युवाले कसरी आशा गर्ने ।

त्यसैले अब त संघियतामा गइसकेको देशमा जनप्रतिनिधिदेखि सरकारले पनि यस बारेमा सोच्नुपर्छ । शिक्षित युवालाई उनीहरुले पढाइ अनुसारको रोजगारी दिलाउन पहल गरौं । शिक्षाको स्तर कम भएका युवालाई सिप सिकाएर स्वरोजगार बनाऔं । उनीहरुले आफ्नो श्रम र पसिना अर्काको देशमा बगाउनु नपरोस् । 


(मल्ल चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स धादिङ द्वारा सन्चालित सुरक्षित आप्रवासन सामि परियोजनामा सामाजिक परिचालकको रुपमा कार्यरत हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया