व्यवहार र काममा सुधार गर्न म्यानपावरलाई सरकारको निर्देशन

 भदौ २२, २०७५ शुक्रबार १८:१०:१६ | उज्यालो सहकर्मी

काठमाडौं – वैदेशिक रोजगार विभागले आफ्नो काम र व्यवहारलाई सुधार गर्न म्यानपावरलाई निर्देशन दिएको छ । म्यानपावर व्यवस्थित नभएको र ठगी बढेको गुनासो आइरहेको भन्दै विभागले शुक्रबार म्यानपावरहरुका लागि ११ बुँदे परिपत्र जारी गरेको हो । 

म्यानपावर कम्पनीमा काम गर्ने कर्मचारीको व्यवहारदेखि कार्यालय व्यस्थापनसम्मका कुरा सुधार्न विभागले निर्देशन दिएको छ । 

विभागमा परेका अधिकांश उजुरीमा विदेश पठाउने भन्दै पैसा लिने, पासपोर्ट लिने, एउटा काम भनेर अर्को काममा पठाउने, सरकारले तोकेको भन्दा धेरै शुल्क लिने गरेको पाइएको छ । 

विभागले जारी गरेको परिपत्र यस्तो छ :

१. कामदारको पासपोर्ट कम्पनीमा संकलन भएपछि अनिवार्य रुपमा नाम, पासपोर्ट नम्बर र कति समयसम्म कम्पनीमा पासपोर्ट रहने हो अभिलेख राख्नुपर्नेछ । कामदारको पासपोर्ट कम्पनीमा राख्दा कम्पनीले बुझिलिएको भर्पाई दिने व्यवस्था अनिवार्य गर्नुपर्नेछ । 

२. कम्पनीको कार्यलयमा आधिकारिक व्यक्ति आफ्नो परिचयपत्र लगाएर बस्ने व्यवस्था गर्नपर्नेछ । अनाधिकृत व्यक्तिलाई कम्पनीमा बसाई कामदारसँग लेनदेन र अन्य कुनै प्रकारको कारोवार गराई कामदारलाई ठगी गरेमा सम्बन्धित कम्पनी नै जवाफदेही हुनुपर्नेछ । 

३. कामदारलाई श्रम मात्र गरिदिएको बाँकी अन्य काममा कामदार स्वयम जवाफदेही हुने जस्ता सम्झौता गराई विदेश पठाउने काम तत्काल बन्द गर्नुपर्नेछ । अनुगमनका क्रममा पीडितका उजुरी फेला परेमा यस्ता विषयमा सम्बन्धित कम्पनी नै जवाफदेही हुनुपर्ने छ । 

४. आवश्यक मात्रामा फर्निचर र स्वच्छ खानेपानीसहित आगन्तुक स्वागत कक्षको व्यवस्था गर्नुपर्नेछ । 

५. कार्यरत कम्पनीका कर्मचारीलाई सहजै चिन्नका लागि कम्पनीकातर्फबाट तोकिएको परिचयत्र अनिवार्य रुपमा लगाउनपर्नेछ । साथै जनसम्पर्क अधिकारीको फोटोसहतिको विवरण सबैले देख्ने ठाउँमा राख्न पर्नेछ । 

६. कामदारको अभिलेख खोजेको समयमा सहजै प्राप्त हुनेगरी अभिलेख व्यवस्थापन प्रभावकारी बनाउन पर्नेछ । 

७. भिजिटिङ कार्डमा कम्पनीको इजाजत पत्र नम्बर, कम्पनीको सञ्चालकको नाम, कम्पनीको सम्पर्क नम्बर, मोवाइल नम्बर ठेगाना व्यवस्थित रुपमा राख्नु पर्नेछ । क–कसको नाममा कस्तो भिजिटिङ कार्ड बनेको छ, कार्ड बनाउँदा नै विभागलाई कार्डसहित जानकारी गराउन पर्नेछ । 

८. काम गर्ने कर्मचारीलाई शिष्टता र आतिथ्यता सम्बन्धी अभिमुखीकरण तालिम दिनुपर्ने छ।

९. सबै म्यानपावर कम्पनीले अनिवार्य रुपमा कम्पनीको वेवसाइट बनाउनुपर्ने र आफ्ना गतिविधि नियमित रुपमा राख्नु पर्नेछ । 

१०. वैदेशिक रोजगार सम्बन्धी ऐन, नियम, निर्देशिका परिपत्रहरुको संग्रह कम्पनीको कार्यलयमा राख्नुपर्नेछ । 

११. कम्पनीको नागरिक वडापत्र, सूचनापाटी, उजुरी पेटिका सबैले देख्ने ठाउँमा सबैको पहुँचमा राख्नुपर्नेछ । 

तपाईको प्रतिक्रिया