मौसम प्रतिकूल बन्दा पदयात्रा गर्नेलाई समस्या

 चैत १७, २०८० शनिबार १८:७:१६ | रासस
unn.prixa.net

रासस

कास्की । मौसम प्रतिकूल बन्दा पदयात्रा गर्नेलाई समस्या भएको छ । प्रि–मनसुनको शुरुमा मौसम बदली भए पनि एक/दुई दिनमै सुधार हुने गरेकोमा यो वर्ष एक हप्तादेखि बादल लाग्ने र वर्षासमेत हुने गरेकोले पदयात्रीलाई समस्या भएको हो ।

ढकमक्क फूलेको लालीगुराँस र हिमाल देखाउँदै विदेशी पर्यटक घुमाउने योजनासहित अन्नपूर्ण आधार शिविर यात्रा शुरु गरेकोमा मौसमले यात्रा नै प्रभावित भएको पथ प्रदर्शक दिवस गुरुङले बताउनुभयो । अन्नपूर्ण सर्किटमा दोस्रो मुख्य पर्यटकीय याम शुरु भइसक्दा मौसमकै कारण गन्तव्यस्थलमा पर्यटकीय चहलपहल कम देखिएको उहाँले बताउनुभयो ।

अन्नपूर्ण सर्किट जस्तै पदयात्राका लागि खुम्बु पुगेका पर्यटक पनि एक हप्तादेखिको बदली र वर्षाले हैरान भएका छन् । यसबेला मौसम खुलेर टाढाका हिमाल पनि प्रष्ट देखिने बेलामा धुम्म भइरहेको पथ प्रदर्शक दावा शेर्पाले बताउनुभयो । यसबेला केही विदेशी र धेरै नेपाली पर्यटक पदयात्राका लागि निस्कन्छन् । तर लागातारको प्रतिकूल मौसमले समस्या पारेको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका पर्यटन व्यवसायी जुली पुनले मौसम नखुलेपछि पर्यटक कम आएको बताउनुभयो । ‘केही दिनयता तुवाँलो मडारिएर हिमाल खुलेको छैन, वर्षा पनि भइरहेको छ, सिजनमा पनि पर्यटकीय चहलपहल कम छ,’ उहाँले भन्नुभयो, ‘बेमौसमको झरीले पर्यटन क्षेत्रमा असर पुर्‍याएको छ ।’

पुनकाअनुसार स्वच्छ र शान्त वातावरणमा हिमाल नियाल्न पर्यटक घोरेपानी र पुनहिल पुग्ने गर्दछन् । ३२ सय १० मिटर उचाइमा रहेको पुनहिलबाट विश्वका दश अग्ला हिमालमध्येमा पर्ने अन्नपूर्ण, धवलागिरि, मनास्लुलगायत दर्जनौँ हिमाल एकसाथ देख्न सकिने उहाँले जानकारी दिनुभयो । पुनले घोरेपानीमा वनपाखा अहिले लालीगुराँसले ढाकेको सुनाउनुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख डाक्टर रविन कडरिया मौसम प्रतिकूल हुँदा पदयात्रा पर्यटन क्षेत्र प्रभावित बनेको बताउँनुहुन्छ । पर्यटकीय याम शुरु भएसँगै अन्नपूर्ण क्षेत्रमा पर्यटकको आवतजावत बढिरहेका बेला केही दिनयता भइरहेको वर्षाले पर्यटकीय गतिविधि सुस्त भएको उहाँको भनाइ छ । गत पुस–माघमा त्यस क्षेत्रमा भित्रने विदेशी पर्यटकको सङ्ख्या घटेकामा फागुनयता भने विस्तारै पर्यटकको आगमन बढिरहेको उहाँको भनाइ छ । डाक्टर कडरियाकाअनुसार गत फागुनमा १५ हजार तीन सय ६९ जना विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए । पर्यटनका लागि 'अफसिजन' मानिने पुसमा आठ हजार चार सय ९२ र माघमा छ हजार एक सय ७९ पर्यटकले सो क्षेत्रको भ्रमण गरेका कडरियाले जानकारी दिनुभयो ।

अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृतिलगायत कारणले पर्यटकको रोजाइमा पर्ने गरेको छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायतका मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा गर्न सकिन्छ । सडक मार्ग हुँदै पनि यस क्षेत्रका विभिन्न गन्तव्यस्थलमा पुग्न सकिन्छ । हिमशृङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रुपमा अन्नपूर्ण क्षेत्र चिनिएको छ ।

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ ।

अमेरिकी सञ्चारमाध्यम 'द न्युयोर्क टाइम्स' ले सन् २०२४ मा घुम्न उपयुक्त विश्वभरका ५२ ठाउँको सूचीमा समावेश गरेको मुस्ताङ पनि अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्छ । यसअघि अमेरिकाकै अर्को समाचार संस्था 'सिएनएन'ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा मुस्ताङ उपत्यकालाई समेटेको थियो । गत कात्तिकमा नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेपछि त्यस क्षेत्रले थप चर्चा पाएको थियो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया